विश्वकपको अन्तिम १६ मा पुगेपछि पाराग्वेमा राष्ट्रिय बिदा

फिफा विश्वकप २०२६ अन्तर्गत नकआउटमा चार पटकको च्याम्पियन जर्मनीलाई हराएपछि पाराग्वेमा आज राष्ट्रिय बिदा दिइएको छ। 

मंगलबार बिहान भएको खेलमा जर्मनीलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराएपछि पाराग्वेमा खुशी मनाउन बिदा दिइएको हो। पाराग्वेका राष्ट्रपति सान्टियागो पेनाले जर्मनीमाथि जित निकाल्दै टोली अन्तिम १६ मा पुगेपछि राष्ट्रिय बिदाको घोषणा गरेका हुन्। 

निर्धारित समयमा १–१ को बराबरी पछि खेल टाइब्रेकरसम्म पुगेको थियो। जहाँ पाराग्वेले ४–३ गोल अन्तरले चार पटकको विश्व च्याम्पियनलाई स्तब्ध पारेको थियो। 

यो जितपछि राष्ट्रपति पेनाले सम्पूर्ण देशले उत्सव मनाउन बिदा दिने घोषणा गरे। राष्ट्रपति पेनाले सरकार यो ठूलो उपलब्धिप्रति उदासिन रहन नसक्ने र ऐतिहासिक दिनको उत्सवमा सबै पाराग्वेबासीलाई खुशी मनाउन सहज बनाउने उद्देश्यले बिदा दिएको बताएका छन्। 

विश्वकपमा जर्मनीविरुद्धको नतिजापछि बिदा दिने पाराग्वे दोस्रो दक्षिण अमेरिकी देश हो। यसअघि समूह चरणमा जर्मनीमथि २–१ गोलको जित निकाल्दै नकआउटमा पुगेपछि इक्वेडरका राष्ट्रपति डेनियल नोबोआले पनि राष्ट्रिय बिदाको घोषणा गरेका थिए।

ताजा समाचार