संन्दिपले पाँच विकेट लिएपछि कतारमाथि नेपालको रोमाञ्चक जित, अब टी-२० विश्वकप नजिक

काठमान्डौ

काठमाडौं । सन्दीप लामिछानेले ५ विकेट लिएपछि नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ ।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमा समेटियो । कतारसामु नेपाली बलरले शानदार प्रदर्शन गरे ।

कुनै समय जिततर्फ लम्बिएको कतारलाई नेपाली बलरले रोक्न सके । स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए । ३.५ ओभर बलिङ गरेका सन्दीपले १८ रन खर्चेर ५ विकेट लिए ।

अन्तिम ओभरमा कतारलाई जितका लागि १० रन आवश्यक थियो । तर, सन्दीपले अन्तिम ओभरमा २ विकेट लिदै नेपाललाई ५ रनको रोमाञ्चक जित दिलाए । नन्दन यादव २ र दीपेन्द्रसिह ऐरीले एक विकेट लिए । कतारका इमाल लियानागेले सर्वाधिक ५६ रन बनाएपनी जितका लागि प्रर्याप्त हुन सकेन ।

त्यसअघि कतारविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक इनिङ खेले । रोहितले ४१ बलमा ५८ रन बनाए । दीपेन्द्रसिंह ऐरी २६, कुशल भुर्तेल ६, आसिफ शेख ११, कुशल मल्ल ८, आदिल आलम २, सन्दीप जोरा १, सोमपाल कामी १४ र गुल्सन झा १६ मा आउट भए । नन्दन यादव १ रनमा अविजित रहे ।

बलिङमा कतारका डेनियल आर्चर मारिया लुइस र मिर्जा मोहम्मद बेगले समान  ३-३ विकेट लिए ।

ताजा समाचार