काठमाडौं । दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट बलिङ र फिल्डिङमा नेपालले यूएईविरुद्ध रोमाञ्चक जित दर्ता गरेको छ ।
नेपाल र यूएईबीच आइतवार भएको एउटा महत्त्वपूर्ण खेलमा नेपालले बाजी मारेको छ।
आईसीसी टी२० विश्वकप एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोट प्रतियोगिताअन्तर्गत सुपर ६ को एउटा कठिन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी यूएईलाई एक रनले पराजित गरेको हो।
ओमान क्रिकेट एकेडेमी टर्फ १ मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा नेपालले १४० रन बनायो भने जबाफमा यूएईलाई १३९ रनमा रोक्न सफल भयो।
जितसँगै नेपालले सुपर सिक्समा महत्त्वपूर्ण २ अङ्क जोडेको छ। योसँगै नेपालको ४ अङ्क पुगेको छ।
नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । यूएईका लागि अलिशान सराफूले अर्धशतकीय पारी खेलेपनि पर्याप्त हुन सकेन । उनले ५८ रन बनाए । ध्रुव पराशरले ३८ रन बनाए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो ।
आसिफले ४७ बलमा ५१ रन बनाए । त्यस्तै कुशल भुर्तेलले २८ रन तथा कप्तान रोहित पौडेले २० रन बनाए । गुल्शन झाले ५ बलमा १४ रन बनाएर आउट भए ।
सुरुवाती १० ओभरमा १ विकेटको क्षतिमा ७३ रन बनाएको भएपनि त्यसपछि रनगति सुस्त हुँदा नेपालले स्कोरलाई डबल पनि गर्न सकेन ।
यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले १-१ विकेट लिए ।