दिल्लीलाई हराउँदै बेंग्लुरू शीर्ष स्थानमा

एजेन्सी

रोयल च्यालेन्जर्स बेंग्लुरू इण्डियन प्रिमियर लिग (आइपिएल)को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ।

गएराति दिल्ली क्यापिटल्सलाई पराजित गर्दै बेंग्लुरू शीर्ष स्थानमा उक्लिएको हो। उसले १० खेलबाट १४ अंक जोडेको छ।

अरूण जेट्ली स्टेडियममा दिल्लीले दिएको १६३ रनको लक्ष्य बेंग्लुरुले ४ विकेट गुमाएर ९ बल बाँकी छँदै पूरा गर्‍यो।

बेंग्लुरूका लागि क्रुनाल पाण्ड्या र विराट कोहलीले अर्धशतक हाने। कोहलीले ४७ बल खेलेर ४ चौका प्रहार गरी ५१ रन बनाएका थिए।

क्रुनाल पाण्ड्या ४७ बलमा ५ चौका र ४ छक्का प्रहार गरी ७३ रन बनाएर नट आउट रहे। टिम डेविडले पनि नट आउट १९ रन जोडे। ५ बल मात्रै खेलेका उनले तीन चौका र १ छक्का हानेका थिए।

बेंग्लुरूका अरू ब्याटर टिक्न सकेनन्।

बलिङतर्फ दिल्लीका अक्षर पटेलले दुई तथा दुश्मन्थ चमिराले एक विकेट लिएका थिए।

पहिले ब्याटिङ गरेको दिल्लीले ८ विकेट गुमाएर १६२ रन बनाएको थियो।

दिल्लीका लागि केएल राहुलले सर्वाधिक ४१ रन बनाए। ३९ बल खेलेका उनले तीन चौका हाने।

ट्रिस्टन स्टब्सले १८ बलमा ५ चौका र १ छक्का हानेर ३४ रन बनाए। ओपनर अभिषेक पोरेलले ११ बलमा २ चौका र २ छक्का हानेर २८ रन बनाउँदा अर्का ओपनर फाफ डु प्लेसिसले २६ बलमा २ चौका हानेर २२ रन बनाए।

अरू ब्याटरले टिकेर खेल्न सकेनन्।

बलिङतर्फ बेंग्लुरूका भूवनेश्वर कुमारले तीन विकेट लिए। त्यस्तै जोश हेजलउडले २ तथा यश दयाल र क्रुनाल पाण्ड्याले एक/एक विकेट लिए।

पराजित भएको दिल्ली १२ अंकसहित तालिकाको चौथो स्थानमा छ।  

दोस्रो स्थानको गुजरात टाइटन्सको पनि १२ अंक छ। यद्यपि उसले २ खेल कम खेलेको छ। मुम्बई इन्डियन्स तेस्रो स्थानमा छ।

ताजा समाचार