एनपीएलमा बोसिस्टोले एकै खेलमा ६ विकेट लिए पछि पोखराको तेस्रो हार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को कर्णाली याक्सले तेस्रो जित निकालेको छ ।

पोखरा एभेन्जर्सले दिएको १०४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । कर्णालीका गुल्सन झाले सर्वाधिक अविजित ४९ रन जोडे । ३७ बलमा गुल्सनले ३ चौका र ४ छक्का प्रहार गरे ।

चाडविक वाल्टनले ४२ रन बनाए बलिङमा बिपिन खत्री, सागर ढकाल र कप्तान कुशल भुर्तेलले एकएक विकेट लिए । त्यसअघि टीयु क्रीकेट मैदानमा कर्णालीविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा १०३ रनमा रोकिएको हो ।

पोखराका दिनेश खरेलले सर्वाधिक २६ रन बनाए । आन्द्रेस गौसले २५, रायमोन रेइफरले २० रनको योगदान दिए ।

बलिङमा कर्णालीका विलियम बोसिस्टो एक्लैले ६ विकेट लिए । ४ ओभर बलिङ गरेका विलियमले २८ रन खर्चेर ६ विकेट लिए ।

५ खेल खेलेको कर्णाली ३ खेलमा जितसहित ६ अंक जोडेर चौथो स्थानमा छ । ४ खेलमा ३ हार बेहोरेको पोखरा २ अंकसहित छैटौं स्थानमा छ ।

बोसिस्टोको ६ विकेट

बोसिस्टोले आफ्नो पहिलो ओभरमा नै पोखराका कप्तान कुशल भुर्तेललाई शिकार बनाए । ओभरको दोस्रो बलमा छक्का हानेका भुर्तेलले पाचौं बलमा बोसिस्टोलाई नै क्याच थमाउन पुगे । खराब फर्मबाट गुज्रिरहेका भुर्तेल आज पनि १० रनमै आउट भए ।

१२ औं ओभरमा बोसिस्टोले म्याट क्रिच्लेलाई पेभिलियन फर्काए । बेलायती अलराउन्डर क्रिच्लेले ९ बलको सामना गर्दा एक रन पनि जोड्न सकेनन् । चौंथो ओभरमा बोसिस्टोले तीन विकेट थप्दै पोखराको ब्याटिङ तहसनहस बनाइदिए ।

यो ओभरमा उनले दिलिप नाथ, मिचेल लिस्क र नारायण जोशीलाई आफ्नो स्पिनको जालमा पारेका थिए । १६ औं ओभरमा फेरि उनले आफ्नो खातामा एक विकेट थपे । क्रिजमा एक्लै संघर्ष गरिरहेका रेमोन रिफरलाई उनले २० रनमा क्याचआउट गराए ।

बोसिस्टोको स्पेल सकिँदा पोखरा एभेन्जर्स १६ ओभरमा १०२ रन जोड्दा ८ विकेटको दयनीय अवस्थामा पुगेको थियो । उनले ६ विकेट लिनका लागि २६ रन खर्चिएका थिए ।

एनपीएलमा यो अहिलेसम्मकै सर्वोत्कृष्ट बलिङ आँकडा हो । योभन्दा अगाडि चितवन राइनोजका पाकिस्तानी लिजेन्ड बलर सोहेल तनवीर, जनकपुर बोल्ट्सका हर्ष ठाकर र सुदुरपश्चिमका नरेन साउदले एकै खेलमा पाँच विकेट लिएका छन् ।

ताजा समाचार