काठमाडौं । भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल दशरथ रंगशालामा जारी साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
आईतबार दोस्रो सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो।

नेपालको जितमा सावित्रा भण्डारी, गिता राना, सविता रानामगर, अमिसा कार्कीको प्रहार सफल भयो।
भारतकी मनिषा, के पुरुषोत्तमको प्रहार सफल हुँदा कप्तान आसालता र रञ्जना चानुको पेनाल्टी प्रहारमा चुके।
भारतले खेलको ७१औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । त्यसलगत्तै नेपालले पनि गोल गरेको थियो । नेपालकी प्रीति राईले गरेको गोलमा सुरुमा रेफ्रिले गोलको मान्यता दिएपनि भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता पाएको थिएन । त्यसपछि खेल रोकिएको थियो । रोकिएको १ घन्टापछि खेल सुरु भएको थियो । खेल सुरु भएको एक मिनेट भित्रै नेपालीकी सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन् ।
निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।
नेपालले अब उपाधिका लागि बंगालदेशसँग भिड्नेछ। आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको थियो।
यसअघिका चार संस्करणमा उपाधिका लागि भिडेका यी दुई टोली लगातार दोस्रोपटक सेमिफाइनलमा आमनेसामने भएका थिए।