आईसीसी विश्वकप लिग २ : आज नेपाल र ओमान भिड्दै

काठमान्डौ

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा आज बुधबार नेपाल र ओमान भिड्दैछन्। 

हङकङको किङ्स सीटीमा हुने खेल राति पौने ९ बजेदेखि सुरु हुनेछ। 

सिरिजको पहिलो खेलमा घरेलु टोली हङकङसँग १ सय ५ रनले पराजित भएको नेपाली टोली आजको खेलमा ओमानलाई हराउँदै अंक तालिकामा २ अकं थप्ने प्रयासमा हुनेछ। 

नेपाल र ओमान सन् २०२३ को अप्रिलपछि पहिलो पटक भेट्दैछन्। 

ओडीआईमा नेपाल र ओमान चिरपरिचत टोली हुन्। यी दुई टोलीबीचको पछिल्लो पाँच भेटलाई हेर्ने हो भने नेपाल हावी छ। 

नेपालले तीन खेलमा जित निकाल्दा दुई खेलको नतिजा ओमानलाई सुम्पेको छ। पछिल्ला दुई खेलमा नेपालले ओमानलाई लगातार पराजित गरेको छ। 

लिग २ का पाँचमध्ये १ खेलमा मात्र जित निकालेको नेपाल अंक तालिकाको सातौँ स्थानमा छ। नेपालभन्दा एक खेल कम खेलेको ओमान ३ अंकसहित तालिकाको छैटौँ स्थानमा छ। 

तीन खेल खेलेको संयुक्त अरब एमिरेन्ट्स (युएई) अंक विहीन रुपमा तालिकाको पुछारमा छ।  लिगका ८ खेलमा ६ खेलमा जित र २ खेलमा हार भोगेको नेदरल्यान्ड्स भने १२ अंकसहित अंक  तालिकाको शीर्ष स्थानमा छ। 

लिगका ९ खेल खेलेको क्यानडा ५ खेलमा जित र ४ खेलमा हार भोग्दै १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ। 

सात खेलमा चार खेलमा जित र २ खेलमा हार र १ खेल रद्द हुँदा स्कटल्यान्ड ९ अंकमा तेस्रो स्थानमा छ। ८ अंकसहित नामिबिया चौथो र ६ अंकसहित अमेरिका पाचौँ स्थानमा छ। 

लिग २ मा सहभागी टोलीले होम एण्ड अवेका आधारमा ३६ ओडीआई खेल खेल्नेछन्। अंक तालिकाको शीर्ष चारमा रहने टोलीले सन् २०२७ मा हुने विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउनेछन्। 

सिरिजपछि नेपाली टोलीले यही टोलीसँग टी–२० आई सिरिज खेल्नेछ। त्यसपछि नेपाली टोली लिग २ का लागि उतैबाट अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ।

ताजा समाचार