अन्तिम खेलमा पनि नेपाल पराजित टी-२० विश्वकपः अन्तिम-८ समीकरण टुंगियो

अमेरिका – नेपाल खराब ब्याटिङ गर्दै आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशसँग २१ रनले पराजित भएको छ । योसँगै नेपाल २०२४ को टी२० विश्वकपमा जित विहीन हुँदै बाहिरिएको छ ।बंगलादेश यस जितले ४ खेलमा ६ अंकका साथ समूह डी बाट दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको छ ।

१०७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमा अल आउट भयो । नेपालका कुशल मल्लले ४० बलमा १ चौका र १ छक्कासहित २७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३१ बलमा २ चौका र १ छक्कासहित २५ रनमा आउट भए । बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसनले नेपालको शीर्षक्रम धरासयी पारेका थिए ।

ओपनर आसिफ शेखले १४ बलमा ४ चौकासहित १७, कुशल भुर्तेल ४, अनिल साह शून्य, रोहित पौडेल र सन्दीप जोरा १(१ रनमा आउट भए । एक समय नेपाल ७ ओभरमा २६-५ को अवस्थामा पुगेको थियो । दीपेन्द्र र कुशल मल्लले छैटौं विकेटका लागि ५८ बलमा ५२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

नेपाललाई अन्तिम १२ बलमा जितको लागि २२ रन चाहिँएको थियो । १९ औं ओभरमा मुश्ताफिजुर रहमानले दीपेन्द्रलाई आउट गर्दै मेडन ओभर राखेपछि जितको सम्भावना सकिएको थियो । गुलशन झा, सोमपाल कामी र अभिनाश बोहरा शून्यमा आउट भए ।

बंगलादेशका तान्जिम हसनले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिए । मुश्ताफिजुर रहमानले ४ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए । सकिब अल हसनले २ र तस्किन अहमदले १ विकेट लिए ।

त्यसअघि सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश १९.२ ओभरमा १०६ रनमा अल आउट भएको थियो । नेपालको बलिङ सामु बंगलादेशका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । बंगलादेशका सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रन बनाए । रिशाद हसनले ७ बलमा १ चौका र १ छक्कासहित १३ रन जोडे ।

ओपनर तान्जिद हसन शून्य, लिटन दास १०, नाज्मुल हसन सान्टो ४, तोव्हीद ह्रिदोय ९, महमुदूल्लाह रियाद १३, जाकेर अली १२ र तान्जिम हसन सकिबले ३ रन बनाए ।नेपालका दीपेन्द्रसिंह ऐरीले ३.२ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए ।

रोहित पौडेलले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा १० रन खर्चेर २ विकेट लिए । बंगलादेश ४ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको छ । नेपाल ४ खेलमा १ अंकका साथ चौथो स्थानमा रहेर बाहिरिएको छ ।

नेपाल नेदरल्यान्ड्ससँग ६ विकेट, दक्षिण अफ्रिकासँग १ रनले पराजित हुँदा श्रीलंकासँग वर्षाको कारण १-१ अंक बाँडेको थियो ।

यसैविच आइसिसी टी-२० विश्वकपको सुपर-८ समीकरणको टुंगो लागेको छ।

२० देश सम्मिलित जारी विश्वकपमा चार समूहमा विभाजन गरिएको थियो। पाँच देश रहेको समूहबाट विजेता र उपविजेता अन्तिम आठमा प्रवेश गरेका छन्।

समूह ए बाट भारत र अमेरिका अन्तिम आठमा प्रवेश गरेका छन्।

भारतले समूह चरणका तीन खेल जित्दा एक खेल रद्द भएपछि अंक बाँडेको थियो। भारत ७ अंकसहित समूहको शीर्षस्थानमा रहेर अन्तिम आठमा प्रवेश गरेको हो।

दोस्रो स्थानमा अमेरिका ५ अंक जोड्दै अन्तिम आठमा प्रवेश गरेको हो।

समूह ए बाट पाकिस्तान, क्यानडा र आयरल्याण्ड बाहिरिए।

समूह ‘बी’ बाट चारै खेल जितेर ८ अंकसहित शीर्षस्थान कायम गर्दै अष्ट्रेलिया अन्तिम आठमा प्रवेश गरेको छ।

उक्त समूहबाट इंगल्याण्ड दोस्रो स्थान कायम गर्दै अन्तिम आठमा प्रवेश गरेको छ।

समूह बी बाट स्कटल्याण्ड, नामिबिया र ओमान बाहिरिए।

समूह सी को अन्तिम खेल बाँकी छँदै सुपर-८ मा पुग्ने देशको टुंगो लागिसकेको छ। सो समूहबाट अफगानिस्तान र वेस्ट इण्डिज सुपर-८ मा पुग्नेछ।

यी दुई देशबीच समूह चरणकै अन्तिम खेल हुन बाँकी छ। दुवैको ६/६ अंक छ। जित्ने टोली समूहको शीर्ष स्थान र पराजित हुने टोली दोस्रो स्थानमा रहँदै अन्तिम आठमा प्रवेश गर्नेछन्।

समूह सी बाट न्युजियल्याण्ड, युगान्डा र पपुवा न्युगिनी बाहिरिए।

नेपाल रहेको समूह ‘डी’बाट दक्षिण अफ्रिका र बंगलादेश अन्तिम आठमा प्रवेश गरेका छन्।

दक्षिण अफ्रिका समूह चरणमा अपराजित हुँदै ८ अंक जोडेर अन्तिम आठमा प्रवेश गरेको छ।

बंगलादेश तीन जित निकालेर ६ अंक जोड्दै अन्ति आठमा प्रवेश गरेको हो।

सोमबार बिहान बंगलादेशसँग नेपाल २१ रनले पराजित भएको थियो।

समूह डी बाट नेपाल, श्रीलंका र नेदरल्याण्ड्स बाहिरिएको छ।

सुपर ८ को खेल बिहीबारदेखि सुरू हुनेछ। पहिलो खेलमा वेस्ट इण्डिज र इंगल्याण्ड तथा दोस्रो खेलमा भारत र अफगानिस्तान खेल्नेछन्।

अन्तिम आठको खेल सकिएपछि जुन २७ मा सेमिफाइनल र जुन २९ मा फाइनल खेल हुनेछ।

ताजा समाचार