काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा मंगलबार राति नेपाल र नेदरल्यान्ड्सबिच खेल हुँदैछ । नेपाल र नेदरल्यान्ड्सबिचको खेल अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रेयरी रंगशालामा राति २१ :१५ बजे सुरु हुनेछ ।
नेपाल र नेदरल्यान्ड्स प्रतियोगिताको समूह ‘डी’ मा रहेका छन् । जारी विश्वकपमा यी दुवै टोलीले आफ्नो पहिलो खेल खेल्न लागेका हुन् । उक्त समूहमा नेपाल र नेदरल्यान्ड्सका अतिरिक्त दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश पनि छन् ।
समूह ‘डी’ अन्तर्गत खेल्न लागिएको यो दोस्रो खेल हो । यसअघि खेलिएको उक्त समूहको पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हराएको थियो । सोही जितका कारण दक्षिण अफ्रिका दुई अङ्कसहित तालिकाको पहिलो स्थानमा छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेदरल्यान्ड्स १५औँ र नेपाल १७औँ स्थानमा छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि नेदरल्यान्ड्स परिचित प्रतिद्वन्द्वी हो । नेपालले यसअघि पनि नेदरल्यान्ड्ससँग थुप्रै प्रतियोगिता खेलिसकेको छ ।
नेपालको दोस्रो सहभागिता
आईसीसी टी–२० विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो । नेपाली टोलीले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । बंगलादेशमा सम्पन्न त्यो विश्वकपमा नेपाल प्रारम्भिक चरणबाटै बाहिरिएको थियो ।
त्यतिबेला पनि एसोसिएट सदस्य राष्ट्र नेपालले छनोट चरण पार गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो । नेपालले कुनै पनि ढाँचाको क्रिकेट विश्वकपमा सहभागिता जनाएको त्यो पहिलो पटक थियो । त्यो विश्वकपको ढाँचा पनि केही फरक थियो ।
आईसीसीको पूर्णकालीन सदस्यमध्ये पहिलोदेखि आठौँ वरीयतामा रहेका राष्ट्र सिधै प्रतियोगिताको ‘सुपर टेन’ चरणमा पुगेका थिए । आईसीसीको पूर्णकालीन सदस्यमध्ये नवौँ र १०औँ वरीयतामा रहेका टोली बंगलादेश र जिम्बाबेले भने छनोट चरण पार गरेर आएका ६ वटा एसोसिएट्स सदस्य राष्ट्रसँग प्रारम्भिक चरणमा प्रतिस्पर्धा गरेका थिए ।
त्यतिबेला नेपालसँगै आयरल्यान्ड, अफगानिस्तान, नेदरल्यान्ड्स, संयुक्त अरब इमिरेट्स (यूएई) र हङ्कङ गरी ६ वटा एसोसिएट्स सदस्य राष्ट्रले छनोट चरण पार गरेर त्यो विश्वकपमा सहभागिता जनाएका थिए । नेपालसँगै यूएई र हङ्कङका लागि पनि त्यो पहिलो विश्वकप सहभागिता थियो ।
त्यो विश्वकपको प्रारम्भिक चरणमा नेपाल समूह ‘ए’ मा परेको थियो । नेपालको समूहमा आयोजक बंगलादेश, अफगानिस्तान र हङ्कङ पनि थिए । समूह ‘बी’ मा भने जिम्बाबे, नेदरल्यान्ड्स, आयरल्यान्ड र यूएई रहेका थिए
।
दुवै समूहबाट एक–एक टोली ‘सुपर टेन’ चरणमा पुग्ने प्रावधान थियो । नेपालले आफ्नो पहिलो खेलमा हङ्कङलाई ८० रनले हराएको थियो । दोस्रो खेलमा नेपाली टोली टेस्ट राष्ट्र बंगलादेशसँग आठ विकेटले पराजित भएको थियो ।
यसैगरी समूहगत चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई नौ रनले हराएको थियो । समूहगत चरणमा नेपाल र बंगलादेश दुबैले दुई–दुई खेलमा जित र एक–एक खेलमा हारको नतिजा निकालेका थिए । बंगलादेशी टोली भने हङ्कङसँग दुई विकेटले पराजित भएको थियो ।
समूहगत चरणमा नेपाल र बंगलादेशको चार–चार अंक थियो । तर, नेट रन रेटमा नेपालभन्दा अगाडि रहँदै बंगलादेश ‘सुपर टेन’ चरणमा पुग्न सफल भएको थियो । बंगलादेशको नेट रन रेट १.४६६ र नेपालको नेट रन रेट ०.९३३ रहेको थियो ।
त्यो विश्वकपमा नेपाल झिनो अन्तरका कारणमात्र ‘सुपर टेन’ चरणमा पुग्नबाट वञ्चित भएको थियो । समूह ‘बी’ बाट भने नेदरल्यान्ड्स प्रतियोगिताको ‘सुपर टेन’ चरणमा पुगेको थियो । नेपाली टोली पारस खड्काको कप्तानीमा त्यो विश्वकपमा सहभागी भएको थियो ।
यसपटक पनि नेपाली टोली छनोट चरण पार गर्दै विश्वकपमा छनोट भएको हो । नेपाल एसियाली क्षेत्रको छनोट प्रतियोगिताबाट विश्वकपमा पुगेको हो । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा ओमान विजेता र नेपाल उपविजेता बन्दै विश्वकपमा पुगेका हुन् ।
- नेदरल्यान्ड्सको छैटौँ सहभागिता
आईसीसी टी–२० विश्वकपमा नेदरल्यान्ड्सको भने छैटौँ सहभागिता हो । नेदरल्यान्ड्सले यसअघि पाँच पटक टी–२० विश्वकप खेलिसकेको छ । नेदरल्यान्ड्सले सन् २००९ मा सम्पन्न टी–२० विश्वकपको दोस्रो संस्करणमा पहिलो पटक सहभागिता जनाएको थियो ।
Hello नेदरल्यान्ड्स टी–२० विश्वकपको ‘सुपर–१२’ चरणसम्म पुगिसकेको राष्ट्र हो । नेदरल्यान्ड्सले विश्वकपको आठौँ संस्करणमा पनि सहभागिता जनाएको थियो । नेदरल्यान्ड्स आठौँ संस्करणमा नै ‘सुपर–१२’ चरणमा पुगेको हो ।