नेपाल जितको संघारमा, एसिया कप अन्योलमा

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कप क्रिकेटमा नेपाली टोली उपाधिको संघारमा छ । उपाधि जिते नेपाली टोली यसै वर्ष हुने एसिया कपमा छनोट हुनेछ । 

त्यसैले यतिबेला नेपाली क्रिकेट समर्थक निकै उत्साही छन् । प्रिमियर कपको फाइनल खेल सोमबार वर्षाका कारण दोस्रो पटक स्थगित हुँदा पनि हजारौँ नेपाली समर्थक कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा घण्टौँसम्म छाता ओढेर खेल सुरु हुने व्यग्र प्रतीक्षामा थिए । तर वर्षाका कारण आजको खेल स्थगित गरिएको छ । अब बाँकी खेल भोलि रिजर्भ डेमा ९ बजेबाट सुचारु गरिनेछ ।

एसिया कप खेल्न पाउने भएपछि खेलाडीहरू पनि त्यतिकै उत्साही छन् । नेपाली खेलाडीका लागि एसिया कप भनेको भारत, पाकिस्तानजस्ता विश्व क्रिकेटका हस्ती राष्ट्रहरूसँग खेल्न पाउने गतिलो अवसर हो । तर, नेपाली टोली एसिया कपमा छनोट हुने संघारमा रहँदा उक्त प्रतियोगिताकै भविष्य भने अन्योलमा परेको छ । खासगरी राजनीतिक कारणले एकअर्काका चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानका कारण एसिया कप अन्योलमा परेको हो । अर्थात्, भारत र पाकिस्तानको राजनीतिक द्वन्द्वको प्रभाव खेलकुद (एसिया कप) मा पर्ने सम्भावना देखिएको हो ।

एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना गर्ने तय गरेको छ । तर, भारतले भने दुई देशबीच लामो समयदेखि चुलिएको राजनीतिक द्वन्द्वका कारण आफ्नो टोली पाकिस्तान पठाउन अस्वीकार गरेको छ । यद्यपि, यो विषयलाई लिएर भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आफ्नो सरकारसँग थप छलफल गरिरहेको छ ।

भारतले आफ्नो टोली नपठाउने सम्भावना बढेपछि सम्बद्ध सबै पक्ष यतिबेला उचित समाधानको खोजीमा जुटेका छन् । आयोजक राष्ट्र पाकिस्तान पनि प्रतियोगिताले निरन्तरता पाओस् भन्ने चाहना राखेको छ । त्यसका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एसीसीमा छुट्टै प्रस्ताव बुझाएको समाचारमा जनाइएको छ । 

पछिल्लो समय बीसीसीआई त एसिया कप नै रद्द गर्नुपर्ने पक्षमा देखिएको समाचारमा जनाइएको छ । बीसीसीआईले यसअघि नै एसिया कपको सट्टामा छुट्टै पाँच देश सहभागी हुने प्रतियोगिताको ढाँचा अगाडि सारिसकेको छ । समाचारका अनुसार, एसिया कपको विषयमा छिट्टै नै एसीसीले कुनै ठोस निर्णय लिने सम्भावना छ । 

ताजा समाचार