विश्वकप:पहिलो पटक मोरक्को र पोर्चुगल क्वार्टर फाईनल

एजेन्सी

२०१० को विजेता स्पेनलाई पेनाल्टी शुटआउटमा ३-० ले पराजित गर्दै अफ्रिकी राष्ट्र मोरक्को कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

त्यसैगरी गोन्सालो रामोसको ह्याट्रिकमा स्वीटजरल्याण्डमाथि शानदार जित निकाल्दै पोर्चुगल १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। 

गोलकिपर यासिन बोनो नायक बन्दै दुई पेनाल्टी बचाएपछि मोरक्कोले अन्तिम आठमा स्थान पक्का गरेको हो । मोरक्को विश्वकप इतिहासमा क्वाटरफाइनलमा पुग्ने चौथो अफ्रिकी टिमसमेत बनेको छ । यसअघि क्यामरुन, सेनेगल र घानाले फरक समयमा क्वाटरफाइनलसम्मको यात्रा तय गरेका थिए ।

दोहाको एजुकेसन सिटी स्टेडियममा मोरक्कोले दर्शकको राम्रो साथ पाउँदा स्पेनलाई १२० मिनेटसम्म गोल गर्न नदिई बराबरीमा रोकेको थियो ।

पेनाल्टीमा मोरक्कोका लागि अब्देलहमिद साबिरी, हाकिम जियाच र अच्रफ हाकिमीले गोल गरे । बाडर बनाउनेको प्रहार भने स्पेनका गोलकिपर उनाई सिमोनले बचाएका थिए ।

सन् २०१० को विश्व च्याम्पियन स्पेनका भने कसैले पनि गोल गर्न सकेनन् । कार्लोस सोलर र कप्तान सर्जियो बुस्केटको प्रहार मोरक्कोका गोलकिपर बोनोले बचाए । पाब्लो साराबियाको प्रहार भने पोलमा लागेर बाहिरियो ।

त्यसअघि निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो ।

लुसैल स्टेडियममा मंगलबार राति भएको खेलमा पोर्चुगलले स्वीटजरल्याण्डलाई ६–१ को फराकिलो अन्तरले पाखा लगाएको हो। यो खेलसँगै विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा भएको छ। पोर्चुगलले अब क्वार्टरफाइनलमा मोरक्कोसँग खेल्नेछ।

ताजा समाचार