उद्घाटन खेल हार्ने पहिलो आयोजक बन्यो कतार, इक्वेडर २-० ले विजयी

एजेन्सी

दक्षिण अमेरिकी राष्ट्र इक्वेडरले कतार विश्वकपमा सुखद सुरुवात गरेको छ। 

अल बेत रंगशालामा आइतबार भएको उद्घाटन खेलमा घरेलु टोली कतारलाई २–० ले स्तब्ध पार्दै इक्वेडरले पहिलो खेलमै ३ अंक जोडेको हो।

इक्वेडरको जितमा कप्तान इनर भ्यालेन्सिया निर्णायक बने। भ्यालेन्सियाले टोलीलाई जित दिलाउँदा आफ्नो नाममा किर्तिमान समेत बनाए। विश्वकपमा इक्वेडरका लागि भ्यालेन्सियाले ५ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको किर्तिमानी आफ्नो नाममा गराएका छन्। भ्यालेन्सियाले सन् २०१४ मा ३ गोल गर्दै एकै विश्वकपमा तीन गोल गर्ने इक्वेडरका खेलाडीको किर्तिमान पनि आफ्नो नाममा गरेका थिए। 

यसअघि इक्वेडरका लागि अगस्टिन डेलगाडीले सन् २००२ र २००६ को विश्वकपमा तीन गोल गर्दा भ्यालेन्सियासँग बराबरी गोल थियो। इक्वेडरका लागि कार्लोस टेनोरियोले विश्वकपमा २ गोल गरेका छन्। 

इभान काभिडेस र एडिसन मेन्डेनले विश्वकपमा एक एक गोल गरेका छन्। विश्वकपमा ४ संस्करणमा इक्वेडरले १२ गोल गरेको छ। ८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको इक्वेडरले कतारलाई घरेलु मैदानमा नै स्तब्ध पारेको हो। 

विश्वकपको २२ वर्षे इतिहासमा इक्वेडरले योसँगै ४ पटक मात्र सहभागिता जनाएको छ। इक्वेडरले यसअघि सन् २००२, २००६ र २०१४ मा विश्वकप खेलेको थियो। 

पहिलो पटक सन् २००२ मा सहभागी भएको इक्वेडर पहिलो चरणबाट नै बाहिरिँदा सन् २००६ को विश्वकपमा अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो। विश्वकप इतिहासमा यो नै भ्यालेन्सियाको उत्कृष्ट प्रदर्शन हो। 

सन् २०१० मा विश्वकपमा सहभागी नभएको इक्वेडरले २०१४ मा पहिलो चरणसम्म पुगेको थियो। सन् २०१८ को विश्वकपमा सहभागिता नजनाएको इक्वेडरले यो पटक सुखद सुरुवात गरेको हो। सन् २०१४ मा समुह इ मा रहेको इक्वेडर समुहको तेस्रो स्थानमा रहँदै विश्वकपको यात्रा सकाएको थियो। 

इक्वेडर यो पटक नयाँ इतिहास बनाउने योजनामा छ। तर समूह ए मै रहेका सेनेगल र नेदरल्याण्ड मध्य कम्तिमा एउटालाई पराजित गर्न जरुरी छ। 

ताजा समाचार