काठमाडौँ — आरिफ शेख र गुलशन झाले अर्धशतकीय साझेदारी गरेपछि नेपालले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा यूएईलाई ३ विकेटले पराजित गरेको छ । आरिफ र गुलशनले सातौं विकेटको साझेदारीमा ६२ रन जोडेपछि नेपालले १ सय ९२ रनको लक्ष्य ४७.५ ओभरमा पुरा गर्यो ।
गुलशनले ३७ रन बनाए । उनले ४९ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । आरिफ ३३ रनमा अविजित रहे । उनले ५८ बल खेल्दै ३ चौका प्रहार गरे । विजयी चौका प्रहार गरेका सोमपाल १६ बलमा १६ रन बनाए । उनले २ चौका प्रहार गरे ।
यो नतिजासँगैं नेपालले तीन खेलेको शृंखला १–१ बराबरीमा ल्याएको छ । पहिलो खेलमा नेपाल ८४ रनले पराजित थियो । तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।
नेपालको सुरुआत राम्रो थिएन । अर्जुन साउद इनिङ्सको चौथो बलमै थर्डमा क्याच दिन पुगे । अर्का ओपनर आसिफ शेख टप एज लागि ६ रनमा आउट भए भने कप्तान रोहित पौडेलले पनि ८ रनमात्र बनाउन सके ।
पूर्वकप्तान ज्ञानेन्द्र मल्लले चार सुन्दर चौका प्रहार गर्दै ५९ बलमा २६ रन बनाए । दीपेन्द्रसिंह ऐरी १३ रनमा आउट भए । कुशल भूर्तेलको इनिङ्सले नेपाली ब्याटिङमा आशा देखाएको थियो । उनले ५२ बल खेल्दै ६ चौका प्रहार गरे । ज्ञानेन्द्र र आरिफ दुवैले आफ्नो इनिङ्सका क्रममा एकदिवसीय अन्तर्राष्ट्रियमा ५ सय रन पूरा गरेका थिए ।
यसअघि उत्कृष्ट पुनरागमन गर्दै नेपालले यूएईलाई ठूलो स्कोर जानबाट रोकेको थियो । पहिलो १० ओभरमा बिना क्षति ७० रन जोडेर आक्रामक सुरुआत गरेको यूएईलाई नेपालले ४३.२ ओभरमा १ सय ९१ रनमा अलआउट गरेको थियो ।
ललित राजवंशी र सोमपाल कामीले ३–३ विकेट लिँदै यूएईको मध्यक्रमलाई भत्काएका थिए । ललितले १० ओभरमा ४१ र सोमपालले ७.२ ओभरमा ३५ रन खर्चे । करण केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले १–१ विकेट लिए । मोहम्मद वासिम र वृत्य अर्भिन्दले टस जितेर ब्याटिङमा आएको यूएईलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । उनीहरुले १२ ओभरभित्र ७२ रन जोडेका थिए । वृत्यलाई २५ रनमा आउट गरी नेपालले पहिलो विकेट लिएको थियो । दीपेन्द्रको बलमा सोमपालले मिडविकेटमा क्याच लिएपछि वृत्य ३९ बलमा २५ रन बनाई आउट भए ।
वामिसले ५० रन बनाए । उनी ललितको एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो सिकार भए । वामिसले ४६ बल खेली ३ चौका र ४ छक्का प्रहार गरे । सोमपालले पूर्वकप्तान रोहन मुस्ताफालाई ४ रनमा बोल्ड गरे । ललितले जस्तै कुशलले पनि एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पहिलो विकेट लिए । कुशलको लेग स्पिनमा यूएईका कप्तान सीपी रिजवान २२ रनमा रोहितबाट समातिए । रिजवानले ३४ बल खेली २ चौका प्रहार गरे ।
एलिसन सराफुले ३५ रन बनाए । उनले ४३ बल खेली ३ चौका प्रहार गरे । डेब्यु गरिहेका विष्णु सुकुमरन १५ रनमा आउट भए । बसिल हमिदले २६ बल खेली १ चौका र २ छक्का प्रहार गरि २४ रन जोडे ।
पहिलो खेलमा ८४ रनले पराजित भई तीन खेलको शृंखलामा पछाडि परेको नेपाली टोलीमा एक परिवर्तन गरिएको छ । हरिशंकर शाहको स्थानमा आरिफ शेखलाई ल्याइएको छ । हरिशंकरले पहिलो खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।