भारत पराजित, उपाधीका लागि पाकिस्तान र इंग्ल्यान्डले खेल्ने

एडिलेड — एलेक्स हेल्स र जस बटलरले उत्कृष्ट अर्धशतकसहित नटआउट रहेपछि इंग्ल्यान्डले बिहीबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतमाथि १० विकेटको एकोहोरो जित निकालेको छ ।

अब आइतबार मेलबर्नमा हुने फाइनलमा इंग्ल्यान्डले पाकिस्तानको सामना गर्नेछ । जितनिम्ति १ सय ६९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डका लागि दोस्रो सेमिफाइनलमा ७ छक्का मदतमा हेल्सले ८६ र बटलरले ८० रन बनाए । 

दुवैले आक्रामक, नियन्त्रित र सुदृढ ब्याटिङको नमुना पेस गरे । इंग्ल्यान्ड जितसम्म पुग्दा ४ ओभरको खेल अझै बाँकी थियो । सुपर–१२ मा आयरल्यान्डविरुद्धको खेल गुमाएको इंग्ल्यान्डले राम्रो सुरुआत लिएको थिएन । तर अहिले बटलरलाई लाग्छ, ती दिन अब धेरै पुरानो भइसक्यो । उनले भने, ‘त्यस हारपछि हाम्रा सबै खेलाडीले प्रतियोगितामा आफूले सक्दो खेले । त्यसमध्ये सबैभन्दा राम्रो प्रदर्शन आजै रह्यो । खुबै खुसी महसुस भइरहेको छ ।’

हार्दिक पाण्ड्येले ३३ बलमा ६३ रन बनाएपछि भारतले पहिले ब्याटिङ गर्दै ६ विकेटमा १ सय ६८ रन बनाएको थियो । तर यो सम्माजनक स्कोर पनि हेल्स र बटलरको ब्याटिङसामु झिनो साबित भयो । सन् २०१० को च्याम्पियन इंग्ल्यान्डले अब दोस्रोपल्ट ट्वान्टी–२० विश्वकप उपाधि जित्न प्रयास गर्न सक्ने छ । इंग्लिस कप्तान बटलरले भुवनेश्वर कुमारलाई पहिलो ओभरमै तीन चौका प्रहार गरे । त्यसपछि इंग्ल्यान्डले कुनै पनि समय खेलमा पछाडि फर्केर हेर्नुपरेन ।

सुरुमा बटलर आक्रामक देखिए । पछि उनलाई हेल्सले साथ दिए । सुरुआती ६ ओभरमै इंग्ल्यान्ड विना विकेट क्षति ६३ रनको बलियो स्थितिमा पुगिसकेको थियो । हेल्स २८ बलमै ५० रन बनाउन सफल भए । उनी विशेषतः अक्षर पटेलमाथि आक्रामक भए । अक्षरले तीन ओभरमा २८ रन चुहाए । यसक्रममा चौका र छक्काको वर्षाजस्तै भयो । पाण्ड्येको बलमा छक्का प्रहार गर्दै हेल्सले इंग्ल्यान्डको सय रन पूरा गरे । 

त्यसपछि भने बटलरले हेल्सका लागि सहयोगी भूमिका निभाए । बटलर पनि पाण्ड्येको बलमा छक्का र चौका प्रहार गर्दै आफ्नो अर्धशतकसम्म पुगे । सन् २०१३ को च्याम्पियन्स ट्रफीयता भारत उपाधिको खडेरीबाट गुज्रिइरहेको छ । अहिले इंग्ल्यान्डविरुद्ध बेहोरको हारले त्यसमा अझ पीडा थपेको छ । बटलरले मोहम्मद सामीको बलमा छक्का प्रहार गर्दै विजयी रन बटुले । यसले सन् १९९२ को एकदिवसीय विश्वकप फाइनलको पुनरावृत्ति गर्न जुराएको छ । जहाँ इंग्ल्यान्ड र पाकिस्तानले प्रतिस्पर्धा गरेका थिए । त्यसमा पाकिस्तान विजयी रहेको थियो । 

बटलरले थपे, ‘हामी अहिले निकै रोमाञ्चक महसुस गरिरहेका छौं । यस्तो जितले वास्तवमै खुसी दिन्छ । हामी चाहन्थ्यौं, आक्रामक सुरुआत होस्, त्यो पनि तीव्र गतिमा । आदिल रसिदले नै ११ औं क्रममा हाम्रो लागि ब्याटिङ गर्ने हुँदा हामीलाई खुलेर खेल्ने अवसर थियो । त्यसअघि विराट कोहलीले प्रतियोगितामा आफ्नो चौथो अर्धशतक पूरा गरे । उनले पाण्ड्येसँग चौथो विकेटका लागि ६१ रनको साझेदारी गरे । भारतले अन्तिम तीन ओभरमा ५७ रन जोडेको थियो । 

साम कुरानको एकै ओभरमा २० रन निस्केको थियो । भारतको यो सबै प्रदर्शनको कुनै अर्थ रहेन । उसका बलरले इंग्लिस ब्याटरलाई बाँधेर राख्न सकेन । खेलपछि भारतीय कप्तान रोहित शर्माले भने, ‘यो खेलमा हाम्रो जस्तो प्रदर्शन भयो, त्यो साह्रै निराशाजनक रह्यो । हामीले एउटै विकेट हात पार्न सकेनौं, त्यसैले इंग्ल्यान्डले १६ ओभरमै खेल जित्यो । हाम्रो बलिङ राम्रो हुन सकेन, त्यसैले हामीले आत्तिएर पनि खेल्यौं । तर जितको पूरा श्रेय इंग्ल्यान्डको प्रारम्भिक जोडीलाई जान्छ ।’

ताजा समाचार