काठमाडौं– स्पिनर संगिता राई र तीव्र गतिकी बलर कविता कुँवरको उत्कृष्ट बलिङ सहयोगमा नेपालले एसिसी महिला टि२० च्याम्पियनसिप २०२२ मा विजयी सुरुवात गरेको छ । मलेसियामा आजदेखि सुरु भएको प्रतियोगितामा नेपालले भुटानलाई ५० रनले हराउँदै विजयी सुरुवात गरेको हो ।
जितको लागि ९५ रनको विजयी लक्ष्य पछ्याएको भुटान १७.५ ओभरमा ४४ रनमा अल आउट भयो । भुटानकी छिरिङ जाङ्मोले २८ बलमा सर्वाधिक १६ रन बनाइन् । अन्य भुटानका खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालकी स्पिनर संगिता राईले २.५ ओभरमा ६ रन खर्चेर ४ विकेट लिइन् । कविता कुँवरले ३ ओभरमा १ मेडनसहित ३ रन खर्चेर २ विकेट लिइन् । सीता रानामगरले ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिइन् । इन्दु बर्मा र अश्मिना कर्माचार्यले १(१ विकेट लिए ।
त्यसअघि युकेएम एसडी क्रिकेट ओभल बांगीमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको थियो । नेपाली काजल श्रेष्ठले २६ बलमा १ चौकासहित सर्वाधिक २० रन बनाइन् ।
खराब सुरुवात गर्नेक्रममा १२-३ को अवस्थामा पुगेको नेपाललाई चौथो विकेटका लागि काजल श्रेष्ठ र इन्दु बर्माले ३२ रनको साझेदारी गरेका थिए । इन्दु २६ बलमा १ चौकासहित २० रनमा आउट भइन् ।
समूह बी मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन छन् । समूह ए मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन् । शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल पुग्ने दुई टोली एसिया कप महिला टि२० क्रिकेट प्रतियोगिता खेल्न पाउने छन् । जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका हुनेछन् । नेपाल पनि प्रतियोगितामा उपाधिको प्रमुख दाबेदार टोली हो । नेपालले दोस्रो खेलमा शनिबार कुवेतसँग खेल्नेछ ।