एजेन्सी – अलराउन्डर आदिल अन्सारीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल र अमेरिकाबीचको खेल नाटकीय रुपमा टाई भएको छ ।
जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रन बनायो । अमेरिकालाई जितको लागि अन्तिम ६ बलमा ६ रन चाहिँएको अवस्थामा आदिल अन्सारीले पाँच रन खर्चिदै खेल ट्राई गराए ।
अमेरिकालाई अन्तिम दुई बलमा एक रन जितको लागि चाहिँएको थियो । पाँचौं बलमा आरोन जोन्सलाई रोहित पौडेलले उत्कृष्ट क्याचका साथ २६ रनमा पेभेलिएन फर्काए । अन्तिम बलमा राहुल जरिवाला रन आउट हुँदै नेपालले नाटकीय रुपमा खेल टाई गराएको हो ।
अमेरिकाका स्टिभन टेलरले १ सय २३ बलमा ११ चौका र ३ छक्कासहित १ सय १४ रनको शतकीय इनिङ खेले । उनको यो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हो । उनी ओडिआईमा शतक प्रहार गर्ने चौथो अमेरिकी खेलाडी हुन् । अमेरिकाको ओडिआईमा पाँचौं शतक हो ।
कप्तान मोनांक पटेल १ सय १५ बलमा ४ चौका र २ छक्कासहित ८५ रनमा आउट भए । दोस्रो विकेटका लागि पटेल र टेलरले २ सय रनको शतकीय साझेदारी गर्दै अमेरिकाको जित पक्का गराए ।
पहिलो विकेटका लागि सुशान्त मोदानी र टेलरले ५.४ ओभरमा २६ रनको साझेदारी गरेका थिए । ओमानविरुद्ध शतकीय इनिङ खेलेका मोदानी सोमपाल कामीको बलमा १७ रनमा कट एण्ड बोल्ड आउट भए ।
त्यसपछि नेपालले दोस्रो विकेट ४२ औं ओभरको तेस्रो बलमा पटेललाई आउट गर्दै लिएको थियो । कप्तान सन्दीप लामिछानेले पटेललाई विकेटकिपर विनोद भण्डारीबाट क्याच गराउँदै दोहोरो शतकीय साझेदारी तोडेका थिए । आदिल अन्सारीको ४४ औं ओभरको पाँचौ. बलमा ठूलो सट खेल्ने धुनमा टेलर सन्दीपबाट क्याच आउट भएका थिए ।