काठमान्डौ
नेपाली महिला भलिबल टोलीले लगातार दोस्रो पटक एभीसी एशियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ।
मङ्गलवार बाङ्ग्लादेशको मिरपुरमा भएको निकै नै प्रतिस्पर्धात्मक फाइनलमा उज्बेकिस्तानलाई ३-२ ले पराजित गर्दै महिला टोलीले उपाधि रक्षा गरेको हो।
लिग खेलमा नेपालले उज्बेकिस्तानलाई सोझो सेटमा पराजित गरेको भए पनि फाइनल खेल प्रतिस्पर्धात्मक थियो।
अधिकांश समय अङ्कमा अग्रता लिएको उज्बेकिस्तानले पहिलो सेट २६-२४ ले हारे पनि दोस्रो सेट उस्तै गरी जितेको थियो।
तेस्रो सेटमा नेपाल हावी भयो र २५-१५ को सहज विजय हात पार्यो। चौथो सेट उज्बेकिस्तानले पुनरागमन गर्दै २५-२२ ले जितेर खेललाई अन्तिम सेटमा पुर्यायो।
निर्णायक सेट नेपालले १५-१० ले जित्दै उपाधि रक्षा गरेको थियो।
यसअघि सन् २०१९ मा भएको प्रतियोगिताको पहिलो संस्करणमा नेपालले माल्दिभ्सलाई हराउँदै उपाधि जितेको थियो।
त्यो नेपाली भलिबलको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय उपाधि थियो।