टी–२० विश्वकप : न्यूजिल्यान्डसँग अफगानिस्तान पराजित भएसँगै भारत समूहचरणबाटै बाहिरियो

अबुधाबी 

संयुक्त अरब एमिरेट्स (यूएई) मा जारी टी–२० विश्वकप क्रिकेटबाट भारत बाहिरिएको छ। अफगानिस्तान र न्यूजिल्यान्डबीचको खेलमा भर परेको भारत न्यूजिल्यान्डको जितसँगै समूहचरणबाटै बाहिरिएको हो।

आइतबार भएको खेलमा अफगानिस्तान न्यूजिल्यान्डसँग ८ विकेटले पराजित भएको हो। यदि अफगानिस्तानले न्यूजिल्यान्डलाई हराएको र भारतले सोमबार नामिबियालाई फराकिलो अन्तरले पराजित गरेको खण्डमा भारत सेमिफाइनल पुग्ने थियो। तर अफगानिस्तान पराजित भएको हो।

यूएईको जायद क्रिकेट रंगशालामा भएको खेलमा अफगानिस्तानले टस जितेर ब्याटिङ राजेको थियो। उसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२४ रनको योगफल तयार पारेको थियो। जवाफमा न्यूजिल्यान्डले १८.१ ओभरमै २ विकेट गुमाउँदै १२५ रनको लक्ष्य पूरा गर्‍यो।

न्यूजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ४० र डेभोन कोन्वेले ३६ रन बनाए। त्यस्तै मार्टिन गुप्टिलले २८ तथा डायरिल मिचेलले १७ रनको योगदान गरे।

अफगानिस्तानका मुजिब उर रहमान र रशिद खानले १/१ विकेट लिए।

यसअघि ब्याटिङ गरेको अफगानिस्तानले खराब सुरुवात गरेको थियो। उसका लागि नजिबुल्लाह जड्रानले मध्य क्रममा आउँदै टोलीको स्कोर सम्मानजनक स्थितिमा पुर्‍याए। उनले सर्वाधिक ७३ रन जोडे। विष्फोटक ब्याटिङ गरेका उनले ४८ बलको सामना गर्दै ३ छक्कार ६ चौका हिर्काए। त्यस्तै गुल्बादिन नइबले १५ तथा कप्तान मोहम्मद नाबीले १४ रन बनाउनबाहेक अन्य ब्याटसमेनले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

न्यूजिल्यान्डका लागि ट्रेन्ट बोल्डले ३ र टिम सोथीले २ विकेट हात पारे। त्यस्तै जेम्स निशमले १ विकेट लिए।

न्यूजिल्यान्ड सेमिफाइनलमा पुगेसँगै अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागिसकेको छ। सुपर १२ को दोस्रो समूहमा रहेका न्यूजिल्यान्ड र पाकिस्तान तथा पहिलो समूहमा रहेका इङ्ल्यान्ड र अस्ट्रेलिया सेमिफाइनल प्रवेश गरेका छन्।

सेमिफाइनलको खेलमा बुधबार र बिहीबार हुनेछन्। त्यस्तै फाइनल आगामी आइतबार हुनेछ।

ताजा समाचार