एजेन्सी
कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ अन्तर्गत तेस्रो चरणको छनोटमा जापानले अष्ट्रेलियालाई पराजित गरेको छ । मंगलबार साइतामा रंगशालामा भएको खेलमा जापानले २-१ को जित दर्ता गरेको हो ।
घरेलु टोलीले खेलको आठौं मिनेटमा आओ तानकाको गोलमा अग्रता लिएको थियो । उनले ताकुमी मिनामिनोले सिर्जना गरेको उत्कृष्ट मुभलाई गोलमा परिणत गरेका थिए । दोस्रो हाफको ७० औं मिनेटमा अष्ट्रेलियाले बराबरी गोल फर्कायो । एज्दीन हर्स्तिचले फ्रिकिकमा सानदार गोल गर्दै खेलमा फर्काएपनि ५ मिनेट बाँकी रहँदा घरेलु टोलीले अग्रता लिएको थियो । असानोको प्रहार पोस्टमा लागेर फर्केपछि अष्ट्रेलियाका अजिज बेहिचलाई लाग्दै आत्मघाती गोलमा परिणत भएको थियो ।
यस जितसँगै जापानले छनोटमा पुनरागमन गर्ने संकेत देखाएको छ । ४ खेल खेलेको जापानको २ जित र २ हारसँगै मात्र ६ अंक छ । पहिलो खेलमा ओमानसँग १-० ले स्तब्ध जापानले दोस्रो खेलमा चीनलाई १-० ले हराएको थियो । गत साता साउदी अरेबियासँग १-० ले पराजित भएपछि जापान समस्यामा परेको थियो ।
समूह बीमा अष्ट्रेलिया ४ खेलमा ९ अंक जोड्दै शीर्षस्थानमा छ । साउदी अरेबियाको ३ खेलमा ९ अंक छ । जापान ६ अंकसहित तेस्रो स्थानमा छ । ३ खेलमा ३ अंक जोडेका ओमान र चीनले जापानलाई पछ्याइरहेका छन् । भिएतनामको ३ खेलमा कुनै अंक छैन । आज हुने अर्को खेलमा साउदीले चीन तथा ओमानले भिएतनामसँग खेल्नेछ ।
लिग चरणको समाप्तिपछि समूहको शीर्ष दुई स्थानमा रहने टोलीले विश्वकपमा स्थान पक्का गर्नेछन् । त्यस्तै तेस्रो स्थानमा रहने टोलीले भने अर्को समूहको तेस्रो हुने टोलीसँग प्लेअफ खेल्नेछ । उक्त प्लेअफ जित्ने टोलीले एसियाको प्रतिनिधित्व गर्दै विश्वकप छनोटका लागि अन्तर महादेशीय प्लेअफ खेल्नेछ ।