घरेलु टोली वेस्ट इन्डिजविरूद्धको चौथो टी-ट्वान्टीमा अष्ट्रेलियाको जित, पाँचौ खेल शनिबार हुने

एजेन्सी । घरेलु टोली वेस्ट इन्डिजविरूद्ध चौथो टी-ट्वान्टीमा अष्ट्रेलियाले जित हात पारेको छ ।

सेन्ट लुसियामा बिहीबार भएको खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई ४ रनले पराजित गरेको हो । पाँच खेलको सिरिजमा अष्ट्रेलियाको यो पहिलो जित हो ।

अष्ट्रेलियाले दिएको १ सय ९० रनको लक्ष्य वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन मात्र बनाउन सक्यो ।

अन्तिम ओभरमा वेस्ट इन्डिजलाई जितका लागि ११ रन आवश्यक थियो । तर, अष्ट्रेलियन बलर मिचेल स्टार्कले ५ बलमा कुनै पनि रन खर्चेनन् । उनको अन्तिम बलमा रसेलले छक्का प्रहार गरे पनि वेस्ट इन्डिज जित निकाल्न सफल भएन ।

यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । अष्ट्रेलियाका मिचेल मार्शले ७५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान आरोन फिन्चले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा डान क्रिस्टियनले अविजित २२ रन जोडे ।

वेस्ट इन्डिज भ्रमणमा रहेको अष्ट्रेलियाले सिरिज भने यस अघि नै गुमाईसकेको छ । पाँच खेलको सिरिजमा वेस्ट इन्डिज ३(१ ले अघि रहेको छ । पाँचौ खेल शनिबार हुनेछ ।

ताजा समाचार