महिला भलिबल टोलीको व्यवस्थापकबाट मास्केको राजीनामा

काठमाडौं

 फिलिपिन्समा दुई महिनापछि हुने एसियन महिला भलिबल च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय टोलीको व्यवस्थापकबाट निरोज मास्केले राजीनामा दिएकी छन् ।

असार १ देखि टोलीको प्रशिक्षणका लागि सम्पूर्ण रुपमा तयारीका व्यवस्थापन खटिएकी मास्केले घराइसी कारण देखाउँदै मंगलबारकै मितिबाट लागू हुने गरि राजीनामा स्वीकृति गर्न नेपाल भलिबल संघका अध्यक्षलाई राजीनामा बुझाएकी छिन् । मास्के भलिबल संघकी उपाध्यक्ष हुन् ।
मास्केले संघका कार्यवहाक अध्यक्ष याम गुरुङ र महासचिव जितेन्द्र चन्दलाई आफूले राजीनामा पत्र बुझाएको बताइन् । उनले आफू व्यवस्थापकका रुपमा नरहेपनि संघको अन्य काममा भने विगतमा जस्तै सक्रिय रहने बताएकी छन् ।

पोखरामा रहेका संघका कार्यवहाक अध्यक्ष गुरुङले आफूले पनि भर्खर मास्केको राजीनामाका बारेमा जानकारी पाएको जनाउँदै शनिबारका लागि छलफल गर्न बैठक डाक्ने भनेको बताए । ‘मैले पनि आज नै थाहा पाए । उहाँले राजीनामा दिनुभएको भन्ने,’ उनले भने, ‘मैले सबै कुरा बुझ्न बाँकी छ । शनिबार बैठक बसेर त्यसमा छलफल गर्नेछौं ।’

संघको शुक्रबार बसेको पछिल्लो बैठकमा पनि मास्केले आफू व्यवस्थापकको जिम्मेवारीबाट अलग हुन चाहेको गुरुङले बताए । ‘उहाँले म आवश्यक सहयोग सबै गर्छु । यो जिम्मेवारी अरुलाई दिनुस् भन्ने उहाँको प्रस्ताव थियो,’कार्यवहाक अध्यक्ष गुरुङले भने, ‘तर सबै साथीहरुले सुरु देखि तपाईले जिम्मेवारी लिएर काम गर्नुभएको हो । काम पनि राम्रो भइरहेको छ, नछाड्न भनेका थियौं । अहिले फेरि के भयो मैले बुझ्न बाँकी छ ।’

गुरुङले टोलीको तयारी जारी रहने बताएका छन् । भदौ १३ देखि २० गते सम्म हुने च्याम्पियनसिपका लागि संघले २७ खेलाडीको संलग्नतामा प्रशिक्षण गराइरहेको छ । टोलीको मुख्य प्रशिक्षकमा जगदिश भट्ट रहेका छन् । शुक्रबार कै बैठकले संघका सचिव मनवीर छन्त्यालको संयोजकत्वमा ७ सदस्यीय खेलाडी छनोट समिति पनि गठन गरेको थियो । च्याम्पियनसिपमा सहभागी हुने १ करोड ३५ लाख रुपैयाँ खर्च हुने अनुमान रहेकोले सहयोगका लागि राष्ट्रिय खेलकुद परिषद्लाई आग्रह गर्ने गुरुङले जानकारी दिए ।

ताजा समाचार