विश्व विजेता फ्रान्स ट्राईब्रेकरमा स्तब्ध, स्विस सहित स्पेन क्वाटरफाईनलमा

 स्विट्जरल्यान्डले टाइब्रेकरमा फ्रान्सलाई सोमबार ५–४ ले स्तब्ध पार्दै युरो २०२० को क्वार्टरफाइनल यात्रा निश्चित गरेको छ । केयलिन एमबापे निर्णायक पेनाल्टी प्रहारमा चुकेपछि विश्व च्याम्पियन फ्रान्सले स्तब्धपूर्ण नतिजा बेहोरेको हो । यसअघिको खेल ३–३ को रोमाञ्चक बराबरीमा रहेको थियो ।

दुई गोलले पछाडि रहेको स्थितिबाट खेलमा फर्केको स्विस टिमका लागि मारियो गाभरानोभिचले ९० औं मिनेटमा बराबरी गोल गोल गरेका थिए । स्विस गोलरक्षक यान सोमरले एमबापेको पेनाल्टीलाई गोल हुन दिएनन् । अब अन्तिम आठमा स्विट्जरल्यान्डको सामना स्पेनसँग हुनेछ । खेलपछि सोमरले भने, ‘आजको खेल अद्वितीय रह्यो ।’

ह्यारिस सेफेरोभिचले स्विट्जरल्यान्डलाई १५ औं मिनेटमा अग्रता दिलाएका थिए । लगतै रिकार्डो रोडरिग्वेजको पेनाल्टी प्रहार फ्रान्सेली गोलरक्षक ह्युगो लोरिसले जोगाए । त्यसपछि फ्रान्सेली टिममा साढे पाँच वर्षपछि फर्केका करिम बेन्जेमामा दुई गोल गर्दै टिमलाई खेलमा पर्काए । पउल पोग्बाले ७५ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई ३–१ ले अगाडि राखे ।

पोग्बाको त्यो गोल उत्कृष्ट थियो, तर फ्रान्सले त्यस स्थितिबाट आफूलाई सम्हालेर राख्न सकेन । टाइब्रेकरमा स्वि्टजरल्यान्डका तर्फबाट पाँचै प्रहार गोलमा परिणत भएको थियो र टिमले ८३ वर्षयता पहिलो पल्ट ठूलो प्रतियोगिताको नकआउट चरणमा पहिलो जित निकाल्न सफल रह्यो ।

एता अतिरिक्त समयको पहिलो हाफमा गरेको दुई गोलको मद्दतमा स्पेनले सोमबार क्रोएसियालाई ५–३ ले हराएर अन्तिम आठको यात्रा तय गरेको छ । रोमाञ्चक र सनसनीपूर्ण खेलमा स्पेनका लागि अल्भारो मोरेटाले सयौं र मिखेल ओयारजबालले १ सयौं ३ मिनेटमा गोल गरे ।

खेलको ५७ औं मिनेटमा सिसर अजपिलिक्वोटाले हेडबाट गोल गर्दै स्पेनलाई पहिलो पल्ट अग्रता दिलाए । फेरान टोरेसले निकालेको सटिक क्रसमा उनले नजिकको दूरीबाट हेड गर्दै बललाई पोस्ट चुमाएका थिए । टोरेसले ७६ औं मिनेटमा तेस्रो गोल गरे । क्रोएसियाले २०औं मिनेटमा अविश्वसनीय आत्मघाती गोलमा अग्रता लिएको थियो ।

ब्याक पासका रूपमा आएको बललाई स्पेनी गोलरक्षक उनइ सिमोनले आफ्नै पोस्टका दिशा दिएका थिए । बलमाथि नियन्त्रण लिने प्रयासमा उनको ध्यान त्यसबाट हटेको थियो र यसैक्रममा बलले उनलाई धोका दिएको थियो । युरो २०२० मा भएको यो नवौं आत्मघाती गोल हो । स्पेनका तर्फबाट बराबरी गोल ३८ औं मिनेटमा सम्भव भएको थियो । पाब्लो साराबिआले १० यार्डबाट शक्तिशाली प्रहार गर्दै गोल गरे ।

ताजा समाचार