थ्रोगन हेजार्डको गोलको मद्दतमा बेल्जियमले आइतबार युरो २०२० मा पोर्चुगललाई १–० ले हराएर क्वाटरफाइनल यात्रा तय गरेको छ । हारले डिफेन्डिङ च्याम्पियन पोर्चुगल भने प्रतियोगिताबाट बाहिरिएको छ भने नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै चेक गणतन्त्र युरो-२०२० को क्वार्टरफाइनल प्रवेश गरेको छ । चेकले हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिनामा १० खेलाडीमा सीमित भएको नेदरल्यान्ड्सलाई २–० ले पराजित गर्यो । चेकले नेदरल्यान्ड्समाथि लगातार चौथो खेल जितेको हो ।
अब अन्तिम आठमा फिफा वरीयताको नम्बर १ टिम बेल्जियमको सामना इटालीसँग हुनेछ । हेजार्डले ४२औं मिनेटमा पेनाल्टी एरियाबाहिरबाट उत्कृष्ट गोल गरेका हुन् । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो खासै चम्कन सकेनन् ।
एता बेल्जियम र पोर्चुगल विचको पहिलो हाफमा उनले फ्रिकिकको अवसर पाए पनि त्यो निर्णायक हुन सकेन । यस क्रममा ३६ वर्षीय रोनाल्डोको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बनाउने सपना पनि पूरा हुन सकेन । इटालीको सामना गर्नुअगाडि बेल्जियमका लागि एडेन हेजार्डको चोट भने चिन्ताको विषय हुनेछ । उनी चोट बोक्दै दोस्रो हाफमा मैदान छाड्न बाध्य भएका थिए ।
त्यसैगरी चेक र नेदरल्याण्डको खेलमा
रेफ्रीले पहिला डी लिटलाई पहेलो कार्ड देखाए पनि भीएआरको सहयोगमा रातो कार्ड देखाएपछि नेदरल्यान्ड्स ५५ औं मिनेटमा १० खेलाडीमा झरेको थियो । त्यसको १३ मिनेटपछि टोमस होल्सले कर्नरमा आएको बलमा हेडमा गोल गरी चेकलाई महत्वपूर्ण अग्रता दिलाए ।
सिकले ८० औं मिनेटमा गोल गरे । प्रतियोगितामा सिकको यो चौथो गोल हो र सर्वाधिक गोल गर्नेमा उनी पोर्चुगलका क्रिष्टियानो रोनाल्डोभन्दा एक गोलले पछाडि छन् ।
सिकको नजर मिलान बारोसको कीर्तिमानमा हुनेछ । बारोसले युरो २००४ मा चेकका लागि ५ गोल गरेका थिए, जुन एकै युरोपियन च्याम्पियनसिपमा चेक खेलाडीले बनाएको सर्वाधिक गोलको कीर्तिमान हो ।