काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तराई–मधेशमा देखिएको समस्याबारे प्रथम राष्ट्रपति डा. रामबरण यादवर प्रथम उपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन् ।
शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेलले दुवैजनासँग तराई-मधेशको समस्याबारे छलफल गरेका हुन् ।
राष्ट्रपति पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जलगायत तराई–मधेशका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितीका बारेमा प्रथम राष्ट्रपति–उपराष्ट्रपतिसँग छलफल गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
छलफलमा राष्ट्रपति पौडेलले तराई–मधेशमा घटेका घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम सबैले पहल गर्नुपर्ने धारणा राखेका थिए ।
प्रथम राष्ट्रपति डा. यादवले सरकारले यो विषम अवस्थामा सबै राजनीति दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकको साथ लिएर समस्या समाधान गर्ने क्षामता राख्नुपर्ने बताएका थिए ।