लिङ्देनको जिकिर-लोकप्रियताको हिसाबले रास्वपापछि दाेस्राे स्थानमा राप्रपा छ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले चार वर्षअघि कमजोर अवस्थामा रहेको पार्टीलाई राष्ट्रिय राजनीतिमा स्थापित गर्न सफल भएको बताएका छन् ।

काठमाडौँ जिल्ला अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले २०७८ सालको महाधिवेशनपछि पार्टीको नेतृत्व सम्हाल्दा राप्रपाको प्रतिनिधि सभामा आफू एक्लो सांसद मात्र रहेको स्मरण गरे ।

उनले गएको निर्वाचनमा प्रतिनिधि सभामा १४ र प्रदेश सभामा २८ सीटसहित राप्रपा राष्ट्रिय पार्टीका रूपमा स्थापित भएको जिकिर गरे। राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको मुद्दालाई संस्थागत गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए।

उनले भने, ‘अब नेपालमा अन्य राजनीतिक दलले पनि यी मुद्दालाई आफ्नो एजेन्डा बनाएर पार्टी दर्ता गर्न सक्ने कानुनी व्यवस्था हामीले बनाएका छौँ। लोकप्रियताको हिसाबले राप्रपा राष्ट्रिय स्वतन्त्र पार्टीपछि दोस्रो स्थानमा छौँ।’

उनले जनताबाट राम्रो प्रतिक्रिया पाए पनि त्यसलाई मतमा रूपान्तरण गर्न पार्टी असफल भएको स्वीकार गरे। यसको मुख्य कारण बाह्य नभई पार्टीकै कार्यशैली र सङ्गठनात्मक कमजोरी रहेको उनको भनाइ थियो।

आगामी महाधिवेशनलाई पार्टी सुधारको अवसरका रूपमा लिनुपर्ने भन्दै नयाँ सोच, नयाँ कार्यशैली र नयाँ योजनाका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको सुनाए।

ताजा समाचार