काठमाडौँ — दशक लामो कांग्रेसको नेतृत्व सम्हालेका शेरबहादुर देउवा औपचारिक रुपमा मंगलबारदेखि पार्टीको कार्यकारी भूमिकाबाट बिदा भएका छन् ।
आगामी १५ औं महाधिवेशनमा विधानले उनलाई उम्मेदवार हुन दिनेछैन तर देउवा स्वयंले भने केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै मंगलबार अब आफू उम्मेदवार नहुने घोषणा गरे । पार्टीको १५ औं महाधिवेशन सम्पन्न गर्न देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यकारी सभापतिको जिम्मेवारी तोकेका छन् । महाधिवेशन सम्पन्न गर्न खड्कालाई जिम्मेवारी दिएसँगै पूर्ण रूपमा कार्यकारी भूमिकाबाट आफूलाई अलग राखेको सन्देश सभापति देउवाले दिएका छन् ।
जेन-जी आन्दोलनले राजनीतिमा उथलपुथल गराएसँगै देउवा आफ्नो उत्तराधिकारी खडा गर्न नपाउँदै पार्टी नेतृत्वबाट बिदा हुनुपर्यो । यदि, जेन-जी आन्दोलनले यो परिस्थिति निर्माण नगरेको भए एमाले–कांग्रेस समीकरणको सहमति अनुसार २०८३ असारमा आफू प्रधानमन्त्री भएपछि मात्रै पार्टीको महाधिवेशन गराउने दाउमा थिए उनी ।
जेन-जी आन्दोलनपछि देउवाले १५ औं महाधिवेशन सम्पन्न गराएर नेतृत्व हस्तान्तरण गर्ने सुरक्षित बाटोसमेत लिने प्रयास गरेका थिए । तर, पार्टीभित्र तत्काल नेतृत्वबाट हट्न उनीमाथि चर्को दबाब पर्यो । कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले भदौ २३ र २४ अगाडिको स्थिति र त्यसपछिको स्थिति एउटै नभएको भन्दै सार्वजनिक रुपमै नेतृत्वबाट अलग हुन आह्वान गरेका थिए । विशेष महाधिवेशनका लागि ५२ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसमेत गराए । आम कार्यकर्ताको भावना पनि देउवाले तत्काल बहिगर्मनको बाटो रोज्नुपर्नेमा देखियो । यी सबै दबाबका कारण देउवा आजको स्थितिमा आइपुगेका हुन् ।
नेतृत्व हस्तान्तरणका सवालमा देउवाले ‘घरमा सधैं एकैजना मुली नरहने’ भन्दै महामन्त्रीद्वय शर्मा र थापालाई लक्षित गरेर जवाफ पनि फर्काएका छन् । ‘म साथीहरुलाई के आग्रह गर्न चाहन्छु भने घरमा सधैं एकै जना मुली रहँदैन, पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन। जहाँसम्म मेरो विषय छ– मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत् रुपमा हस्तान्त्रण गर्छु भनिसकेको छु । आगामी १५औं महाधिवेशनबाट मबाहेक अरु कुनै साथी सभापति बन्नुहुनेछ त्यसमा द्विविधा छैन ।’
प्राविधिक रुपमा सभापतिमा उनी आफै हुने भए पनि अब फेरि पार्टीको कार्यकारी भूमिकामा उनी देखिनेछैनन् । यद्यपि पार्टीभित्र आफ्नो समूहका नेताहरुको राजनीतिक सुरक्षाका लागि देउवाले बाहिरै बसेर पनि भूमिका भने निर्वाह गर्न सक्छन् । तर, ६० वर्ष लामो सक्रिय राजनीतिक जीवनबाट भने उनी अब अलग भएका छन् । उनको कार्यकारी भूमिकाका रुपमा मंगलबारको केन्द्रीय कार्यसमिति बैठक नै अन्तिम हुने देखिएको छ ।
कांग्रेस विभाजित हुँदा तत्कालीन प्रजातान्त्रिक कांग्रेसका सभापति भएका देउवा पार्टी एकीकरणपछि १० वर्षसम्म सभापति भए । तत्कालीन माओवादी जनयुद्ध नियन्त्रणका लागि ०५८ मंसिरमा आफ्नै नेतृत्वको सरकारले लगाएको संकटकाल बढाउने कि नबढाउने भन्नेमा भन्नेमा पार्टीभित्र तीव्र विवाद बढेपछि देउवाले ०५९ जेठमा पार्टी विभाजित गरेका थिए । त्यसपछि ०६४ असोजमा एकीकरण गरे ।
एकिकरणपछि भएको १२ औं महाधिवेशनमा तत्कालीन सभापति सुशील कोइरालासँग पराजित भएका देउवा त्यसपछि १३ र १४ औं महाधिवेशनमा सभापति निर्वाचित भए । उनी ०६२/०६३ को जनआन्दोलनअघिको व्यवस्थामा तीनपटक र त्यसपछिको गणतान्त्रिक व्यवस्थामा दुई पटक गरेर पाँचपटकसम्म प्रधानमन्त्री बन्न पुगेका थिए ।
बैठक सुरु हुनसाथ देउवाले जेन-जी आन्दोलनका घटनाक्रम, आफू र श्रीमतिमाथिको त्रासदीपूर्ण आक्रमण, संसद् विघटन, सरकार गठन र निर्वाचन घोषणासम्मका विषयमा १३ पृष्ठ लामो लिखित मन्तव्य दिएर देउवाले आफ्नो प्रधानमन्त्रीकालमा गरेका उपलब्धिलाई समेत स्मरण गरेका छन् । उनी विभिन्न कालखण्डमा पाँचपटक प्रधानमन्त्री भए तर छोटो–छोटो अवधिका लागि । उनी आफैले सबै कार्यकाल जोड्दा पनि पाँच वर्ष कार्यकालभन्दा बढी प्रधानमन्त्री हुन नपाएको बताएका छन् ।
पाँचपटक प्रधानमन्त्री भएर पनि देउवाले मुलुकलाई के गरे भन्ने आम प्रश्न जेन-जी आन्दोलनभन्दा अगाडिदेखि नै उठ्ने गरेको थियो । जेन-जी आन्दोलनले देउवासहित एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई एकैचोटि पाखा लगाइसकेको छ ।
सत्ताका खेलाडीको पहिचान बनाएका देउवाले सुशासन कायम गर्न नसकेको राजनीतिमा व्याप्त बेथिति भित्र्याएको आरोप लाग्दै आएका छन् । तर, देउवाले आफू सक्रिय राजनीतिबाट बहिगर्मन हुनै लाग्दा यी सबै आरोपको खण्डन गर्दै आफ्नो कार्यकालमा भएका राम्रा कामका फेहरिस्तसमेत अघि सारेका छन् ।
‘मैले छोटोछोटो समयका लागि भए पनि पाँचपटक प्रधानमन्त्री हुने अवसर पाए । पाँचपटक प्रधानमन्त्री हुँदा करिब एक कार्यकालको समय थियो । त्यसमा पनि अधिकांश चुनावी सरकारको नेतृत्व गरेको थिएँ । तर पनि मैले कतिपय क्षेत्रको सुधारमा कोशेढुङ्गाको काम गरेको तपाईंहरुलाई अवगत नै छ,’ देउवाले जाँजाजाँदै भनेका छन् ।
उनले आफ्नो कार्यकालमा सामाजिक कुरीतिका रुपमा रहेको कमैया मुक्ति, छुवाछुत मुक्त नेपालदेखि सामाजिक रुपान्तरणका कतिपय कामको सुरुवात गर्न गरेको स्मरण गरेका छन् । भ्रष्टाचार निवारणका लागि आफै प्रधानमन्त्री भएका बेला भ्रष्टाचार निवारण ऐन २०५९ जारी गरेको विषय देउवाले यसबीचमा विशेष स्मरण गरेका छन् । ‘नेपालमा भूमिमाथिको द्वैध स्वामित्वको अन्त्य गरेर वैज्ञानिक भूमिसुधार लागू गरेको हुँ । यसकै जगमा अहिले हदबन्दी लागू हुनुका साथै द्वैध स्वामित्व अन्त्य भएको हो,’ देउवाले भनेका छन, ‘सम्पत्तिमा महिलाहरुको स्वामित्व स्थापित गर्न मैले मुलुकी ऐनको ११औं संशोधन, दलित, महिला, जनजाति लगायतका समुदायको उत्थानका लागि आयोग बनाएर संरचनागत सुधार, मुलुकको आर्थिक रुपान्तरणमा डिपार्चरको रुपमा रहेको मुल्य अभिवृद्धि कर लागू गरेर कर प्रणालीलाई वैज्ञानिक र आधुनिक बनाउने काम पनि मेरै प्रधानमन्त्रीत्व कालमा सुरु भएको हो ।’
कार्यकारी भूमिकाबाट देउवाले बिदाइ लिए पनि उनका वरपर रहेका व्यक्तिहरुका कारण विधानले तोकिएको समयभित्रै महाधिवेशन हुने कि नहुनेमा भन्नेमा आशंका भने कायमै रहेको संस्थापनइतर पक्षका नेता मधु आचार्य बताउँछन् । ‘मंसिरभित्र नियमित महाधिवेशन हुने अवस्था बनेन भने त्यही समयमै विषेश महाधिवेशन बोलाउनुपर्छ । त्यसका लागि भए पनि हामी हस्ताक्षरसहित निवेदन दिने तयारीमा छौं,’ उनले भने । उपसभापति खड्कामार्फत नै हस्ताक्षरसहितको निवेदन बुझाउन खोजिएको उनको भनाइ छ । ‘नभए महामन्त्रीहरुलाई बुझाउने छौं,’ उनले थपे ।