यस कारण काटियो स्वास्थ्यमन्त्रीबाट डा. संगीताको नाम

काठमाडौं । स्वास्थ्यमन्त्री बन्न अतिरिक्त स्वास्थ्य सचिवबाट राजीनामा दिएकी डा. संगीता कौशल मिश्राको नाम विवादमा आएपछि एकाएक काटिएको छ ।

आइतबार प्रधानमन्त्री सुशीला कार्कीले डा. मिश्रालाई स्वास्थ्य मन्त्रालयको नेतृत्वका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेकी थिइन् ।

उनीसँगै मन्त्रीका लागि सिफारिस भएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग वाणिज्य तथा आपूर्ति र भूमिसुधार मन्त्रीमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, कृषिमन्त्रीमा डा. मदन परियार र सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेललाई राष्ट्रपति पौडलले सोमबार दिउँसो शपथ खुवाए । तर अन्तिम समयमा आएर डा. मिश्राको नाम भने काटियो ।

नवनियुक्त मन्त्रीहरूको शपथ आइतबार राति नै गर्ने तयारी थियो । तर, अकस्मात शपथ रोकियो । प्रधानमन्त्री कार्यालय स्रोत अनुसार नवनियुक्त मन्त्रीमा डा. मिश्राको नाम विवादमा परेपछि शपथको समय एकदिन पर सारिएको हो । प्रधानमन्त्री कार्कीबाट शपथ आजका लागि ‘होल्ड’ गर्न राष्ट्रपति कार्यालयलाई खबर गरिएको थियो ।

‘डा. मिश्राको नाम विवादमा आएपछि प्रधानमन्त्री कार्यालयबाट ‘होल्ड’ गर्नुभन्ने जानकारी प्राप्त भयो,’ स्रोतले अनलाइनखबरसँग भन्यो, ‘ उहाँमाथि मेडिकल उपकरण खरिद लगायत अन्य फाइल पनि अख्तियारमा छानबिनकै क्रममा रहेकाले आज नाम काटिएको हो ।’

डा. मिश्रा स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा कतिपय निर्णयमाथि परेको उजुरी विचाराधीन छ । खासगरी स्वास्थ्य उपकरण खरिदका निर्णयमाथिको फाइलमा अनुसन्धान चलिरहेको छ र टुंगिएको छैन ।

अख्तियारका एक अधिकारीले भने, ‘यो नितान्त आयोगको आन्तरिक विषय हो । मैले अनुसन्धानको विषयमा थप बोल्न मिल्दैन ।’

डा. मिश्राको नियुक्ति नहुनुको पछाडि ६ महिनाभन्दा लामो समयसम्म स्वास्थ्य मन्त्रालयमा हाजिर नभएको विषयलाई पनि प्रमुखताका साथ हेरिएको छ ।

स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा डा. मिश्राले म्यामोग्राम मेसिनविनाको बक्सा मात्र हस्तान्तरण गरेर रकम भुक्तानी लिएको र मेडिकल उपकरण खरिदका अन्य फाइलबारे पनि अख्तियारले अनुसन्धान गरिरहेका कारण उनको नाम काटिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

त्यसैगरी ११औं तहमा नियुक्तिको समयमा लोकसेवा आयोगमा फर्जी विवरण पेस गरेको आरोप पनि उनीमाथि लाग्दै आएको छ ।

मन्त्री बन्ने भनेर अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन् मिश्राले

स्वास्थ्यमन्त्री बन्ने सम्भावना बढेपछि डा. मिश्राले आइतबार नै अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन् ।

उसो त उनी स्वास्थ्य सचिव हुन नपाएपछि ६ महिना बिदामा बसेकी थिइन् ।

जेनजी आन्दोलनका कारण स्वास्थ्यमन्त्री पदबाट प्रदीप पौडेल पनि हटेपछि १२औं तहकी अतिरिक्त सचिव डा. मिश्रा गत बिहीबार मात्रै मन्त्रालय फर्किएकी थिइन् ।

उनी ३ वर्षदेखि अतिरिक्त सचिव छिन् । गत वर्ष २१ फागुनमा डा. विकास देवकोटा सचिवमा बढुवा भएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै उनी बिदामा बसेकी थिइन् ।

वरिष्ठता मिचेर नियुक्त गरिएको भन्दै असन्तुष्ट बनेकी डा. मिश्राले निरन्तर बिदा थप्दै ६ महिनासम्म बिदामा बसिन् ।

डा. संगीताले यसअघि स्वास्थ्य सेवा विभागको महानिर्देशक, समन्वय महाशाखा, कोशी र स्त्री तथा प्रसूति रोग अस्पतालको मेडिकल सुपरिटेन्डेन्टका रूपमा काम गरिसकेकी छिन् ।

स्वास्थ्य सचिव नियुक्त गर्दा वरिष्ठता मिचेर डा. देवकोटालाई सचिव बनाइएको भन्दै उनले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । उक्त रिटमाथि अहिलेसम्म सुनुवाइ भएको छैन ।

गत ८ जेठमा अनलाइनखबरले कहिले मन्त्रालय फर्किनुहन्छ भन्ने प्रश्नको जवाफमा उनले सरकारले गल्ती स्वीकार गरेर सम्माजनक व्यवस्थापन गरे काममा फर्किने बताएकी थिइन्  ।

‘सरकारले गल्ती गरेपछि केही व्यवस्थापन गर्‍यो भने ठीकै छ । भएन भने अन्य कुरा सोचौंला,’ उनले अनलाइखबरसँग तीन महिना अगाडि भनेकी थिइन् ।

चिकित्सा सेवामा २०५७ सालमा सेवा प्रवेश गरेको र एक वर्ष काम गरेर जागिर छाडेकी थिइन् । त्यसपछि अध्ययन र निजी संस्थाहरूमा काम गरेकी डा. संगीता २०७० सालमा ११औं तहबाट फेरि स्वास्थ्य सेवाम प्रवेश गरेकी हुन् ।

समाचार श्रोत- अनलाईनखबर

ताजा समाचार