काठमाडौं । राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चले सो आदेश दिएको हो । यससँगै मिश्र हिरासत मुक्त हुने भएका छन् ।
न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ भएको थियो ।
उनले पत्रकारसँग दिएको अभिव्यक्ति यस्तो छ
म अहिले तपाईंहरुकै लागि आइदिएको हुँ बाहिर । यसमा मेरो दुईतीन वटा कुरा भन्नु छ । चैत १५ को घटनामा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्न चाहन्छु । त्यो आरोप लगाए जस्तो म जस्तो मान्छेले योजना गरेको कुरा होइन । मैले सधैं भन्ने गरेको थिएँ, ठूलो आन्दोलन भएपछि त्यो आयोजकको वा सरकारको नियन्त्रणमा भीड हुँदैन ।
दोस्रो कुरा, अहिले म खालl हाजिरी जमानीमा छुटेको हो । धेरै खुशी हुने, यो गर्ने, त्यो गर्ने पक्षमा छैन । अझै (संघर्ष) बाँकी छ । राज्य मविरुद्ध लागेको भन्ने स्पष्ट छ । कानून व्यवसायीहरुले राजनीतिक हुकुमप्रमांगी हो भन्नुभयो । अझै मुद्दा बाँकी छ । म न्यायका लागि लागी नै रहन्छु ।
मलाई साथ दिने र ममाथि विश्वास गर्ने विभिन्न पार्टीका, मिडियाका, चिनेका नचिनेका देश विदेशमा रहेका साथीहरुप्रति हार्दिक आभार प्रकट गर्छु । मैले राजसंस्था पुनःस्थापनाका लागि काम गरेकै हो, तर संगठित अपराध, राज्यविरुद्धको कसुर र आपराधिक उपद्रवको काम मबाट केही पनि भएको छैन ।
भन्नैपर्ने अर्को कुरा, बन्दी प्रत्यक्षीकरणलाई यदि मैले सहज रुपमा लिएको भए हिरासतमा आउनासाथ जान सक्थेँ । मैले सघाउँछु भनेर निरन्तर सघाएको हो, तर जब बुझेँ, राज्यले नागरिकको अधिकार खोसिरहेको भन्ने महसुस भयो । त्यसपछि ४८औं दिनमा निवेदन दर्ता भएको हो । मेरो लागि सबै अधिवक्ताहरु भोलेन्टरी (नि:शुल्क) बहस गरिदिनुभएको छ । सबैप्रति आभारी छु ।