काठमाडौं ।
शुक्रबार भएको आगजनी,लुटपाट र अराजकताको घटनाका प्रमुख दोषी मानिएका दुर्गा प्रसाईँ तीनकुनेबाट भागेपछि भूमिगत भएका छन् ।
सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र आतंक मच्चाउन उक्साएर भागेका प्रसाईँ घरमा नगई भूमिगत भएका हुन् । उनलाई पक्राउ गर्न प्रहरी परिचालन भए पनि राति ११ बजेसम्म फेला परेका छैनन् । सरकारले आगजनी, पत्रकारलाई जलाएर मारेको तथा सरकारी तथा निजी सम्पत्ति लुटपाटमा प्रमुख दोषी बनाएर मुद्दा चलाउने भएपछि प्रसाईँ फरार छन् ।
उनी राजा फर्काउने आन्दोलनका जनकमाण्डर घोषित भएका व्यक्ति हुन् । प्रहरीले शुक्रबारको घटनामा जिम्मेवार मानिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवल शम्सेर जबरालाई भने पक्राउ गरेको छ । यद्यपि उनीहरु ती घटनामा संलग्न नरहेको दाबी छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज अधिकारीले प्रसाईँलाई पक्राउ गर्न प्रहरी परिचालन भएको बताए । उनले शुक्रबारको घटनाको मुख्य योजनाकार प्रसाईँ नै भएको विभिन्न प्रमाणमा देखिएको बताएका छन् ।
यसैविच सरकारले राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक बयोवृद्ध नेता नवराज सुवेदीलाई हाउस एरेष्ट गरेको छ । उपत्यका अपराध महाशाखाले धवल शम्सेर,रविन्द्र मिश्र र स्वागत नेपाललाई पक्राउ गरेको छ भने सुवेदीलाई होम एरेष्ट गरेको छ ।
८७ वर्षीय नेता सुवेदीलाई स्वास्थ्य र उमेरका कारण घरमै नजरबन्द गरिएको हो । उनी नेतृत्वको आन्दोलन अराजक बन्दा काठमाडौंमा तोडफोड,आगजनी र लुटपाट भएपछि सरकारले नियन्त्रणमा लिएको हो ।
राष्ट्रिय पञ्चायतका तत्कालीन अध्यक्ष सुवेदी ३० वर्षदेखि राजनीतिमा सक्रिय थिएनन् । यद्यपी उनी राप्रपाको नेतृत्वमा थिए । पछिल्लोपटक पूर्व राजा ज्ञानेन्द्रको आग्रहमा उनी आन्दोलन परिचालन समितिको संयोजक भएका थिए ।