काठमाडौँ । करिब १ महिना लामो गण्डकी प्रदेशको बसाइ र घुमघामपछि पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पर्यटकीय सहर पोखरा हुँदै काठमाडौँ फर्किएका छन् । उनी काठमाडौँ फर्किँदा त्रिभुवन विमानस्थल क्षेत्रमा बाक्लो संख्यामा उपस्थित राजावादीहरुले राष्ट्रिय झण्डासहित स्वागत गरे ।
उनलाई स्वागत गर्न राजावादीले केही दिनदेखि नै सार्वजनिक आह्वान गरेका थिए । जसअनुसार पार्टी राप्रपा, राप्रपा नेपालसहित दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका साथै विभिन्न धार्मिक र राजवादी संघ/संगठनका प्रतिनिधि विमानस्थल पुगेका थिए ।
विमानस्थलबाट ‘लक्जरियस’गाडीमा बाहिरिएका पूर्वराजालाई उकास्दै राजावादीहरुले ‘राजा आउ देश बचाउ’ को नारामात्रै लगाएनन् गणतन्त्रिक व्यवस्था र त्यसको नेतृत्वकर्ताविरुद्ध आक्रोश समेत पोखे ।
प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा शाहले एक भिडियो सन्देशमार्फत अब आफू चुप नलाग्ने आसयसहित आफूलाई साथ दिन आह्वान गरेसँगै राजावादीहरुले आफ्ना गतिविधि बढाउँदै लगेका हुन् । सोही क्रममा राजावादीहरु एकत्रित बन्दै आइतबार उनलाई विमानस्थलमा स्वागत गर्ने भन्दै भेला भएका हुन् ।
राजावादीहरुले वर्तमान व्यवस्थाले देशमा सुशासन कायम हुन नसकेको, भ्रष्टाचार र बेतिथि बढेको जिकिरसहित राजतन्त्रको विकल्प नभएको बताउँदै आएका छन् । तर, उनीहरुले नै अहिले नै राजतन्त्र पुनर्स्थापनाको स्पष्ट मार्गचित्र भने बनिनसकेको बताउँदै आएका छन् ।
आइतबार पनि राजावादीहरुले आफ्नो आस्थाअनुसार पूर्वराजालाई स्वागत गरेका मात्रै हुन् । न उनीहरुलाई राजतन्त्र फर्किहाल्ने विश्वास थियो न त पूर्वराजामा नै । उसो त लोकतन्त्रमा आफूलाई लागेको कुरा संविधानको परिधिभित्र रहेर अभिव्यक्त गर्न पाउने छुट पनि छ।
यद्यपि केही हजार राजावादी सडकमा आएर ज्ञानेन्द्रको स्वागत गर्दा उनीहरु उत्साहित देखिएका छन् । स्मरणीय छ, गणतन्त्रको सुरुवाती समयमा राजतन्त्रको पक्षमा नारा लगाउन समेत राजावादीहरुलाई निकै सकस थियो । परिवर्तन पछिको त्यस अवस्थाबाट गुज्रिएर आएका राजावादीहरुले गणतन्त्र स्थापनाको १६ वर्षको अवधिमा आएर आफ्नो कुरा निर्धक्कसँग राख्न पाउनु नै उपलब्धी बनेको छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ पार्टीले देशको शासन व्यवस्था र प्रणालीमा सुधार खोजिरहेको बताउँछन् । त्यसका लागि एउटा नवीन राजनीतिक समझदारी आवश्यक रहेको उनी बताउँछन् । उनले सबै राजनीतिक दलहरु फेरि नवीन राजनीतिक समझदारीका लागि तयार हुनुपर्ने उल्लेख गर्दै होइन भने प्रिय÷अप्रिय सबै विकल्पहरु खुल्ला रहने चेतावनी दिए ।
आज सडकमा राजसंस्था पुनःस्थापना पक्षधरहरु कति संख्यामा निस्किए ? राजालाई काठमाडौँमा स्वागत गर्ने विशाल संख्या त दुनियाँसामु छर्लङ्गै छ, पोखराबाट बिदाइ गर्नेहरुको संख्या पनि जोडौं त ! यो भिमकाय उपस्थिति होइन र ?’, उनले उत्साहित हुँदै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
राजावादी सडकमा आउँदा उत्साहित देखिएका उनले युवाहरुको उपस्थितिलाई अवमूल्यन नगर्न समेत चेतावनी दिएका छन् । यतिमात्रै होइन उनले आम युवाहरु परिवर्तनको पक्षमा लामबद्ध देखिनु अत्यन्तै सकारात्मक रहेको समेत बताए ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन नयाँ समझदारीमा जानका लागि मिलनबिन्दु भनेकै अहिलेको राष्ट्रपतिको ठाउँमा राजालाई अभिभावकीय संस्थाका रूपमा स्थापित गर्नु भएको बताए ।