काठमाडौँ । सत्तारुढ दलहरूबिच ६ फागुनमा बस्ने राष्ट्रियसभामा सरकारले जारी गरेका अध्यादेश पेस गर्ने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको सत्तारुढ दलहरूको बैठकमा ६ फागुनमा राष्ट्रियसभामा निर्णयार्थ पेस गर्ने सहमति बनेको हो ।
बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकले अध्यादेश पास गर्ने प्रक्रिया अघि बढाउने सहमति बैठकमा भएको जानकारी दिए । उनले भने, ‘अध्यादेश पास हुने प्रक्रिया अघि बढ्छ । राष्ट्रियसभाको ६ गते बस्ने बैठकमा अध्यादेशहरू निर्णयार्थ टेबल हुन्छन् ।’
सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश पास गर्नेबारे जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राजकिशोर यादवसँग टेलिफोनमा सम्वाद भएको कांग्रेस नेता लेखकले बताए । उनीहरू राजधानी बाहिर रहेकाले बैठकमा उपस्थित
नभएको बताउँदै लेखकले काठमाडौँ फर्किएपछि सहमतिमा अगाडि बढ्ने बताए । ‘जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राजकिशोर यादवसँग टेलिफोनमा सम्वाद भएको छ । उहाँहरू राजधानी बाहिर भएकाले बैठकमा सहभागी हुन सक्नुभएन । काठमाडौँ फर्किएपछि सम्वाद गरेर सहमतिमा अगाडि बढ्ने सहमति बनेको छ ।
सरकारले जारी गरेका दुवै अध्यादेश प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट स्वीकृत गराइने उनको भनाइ थियो । सरकारले १८ माघमा सुशासन प्रबर्दन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश, निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश, सहकारीसम्बन्धी अध्यादेश र भूमिसम्बन्धी अध्यादेश पेस गरेको थियो ।