काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नेकपा एमालेको पार्टी कार्यालय बनाउन भन्दै एक रुपैयाँ संकलन अभियान चलाएको छ ।
काठमाडौंमा चलाइएको अभियानमा हिजो सोह्रखुट्टे र माइतीघरबाट तीन हजार ४१३ रुपैयाँ संकलन भएको अखिल क्रान्तिकारीका उपाध्यक्ष क्षितिज सापकोटाले जानकारी दिए ।
आइतबार प्रदर्शनीमार्गमा क्याम्पस जिल्ला संगठन र प्राविधिक जिल्ला संगठनले रकम संकलन गरेको सापकोटाले जानकारी गराए। शनिबार र आइतबार संकलन भएको रकम एमालेको बैंक खातामा जम्मा गरिने उनले बताए।
सत्ताको नेतृत्व गरेको एमालेले कीर्तिपुरमा पार्टी कार्यालय बनाउन १० रोपनी १४ आना जग्गा दान लिएको छ । व्यवसायी मीनबहादुर गुरुङले एमालेलाई जग्गा दान दिएका हुन् ।
गुरुङले एकवर्षभित्र एमालेको पार्टी कार्यालय बनाउने जिम्मेवारी पनि लिएका छन् । २५ असोजमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले भवनको शिलन्यास गरेका छन् ।