नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन्। आठौंपटक मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको निर्णय अनुसार साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्न लागेका हुन्।
बालुवाटार निकट स्रोतका अनुसार आइतबार (३ वैशाख) दिउँसो ३ बजे साउदले सपथ ग्रहण गर्दैछन्।
साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्नका लागि कांग्रेसले बालुवाटारमा पत्र समेत पठाइसकेको छ।
‘भोलि (आइतबार) दिउँसो ३ बजे सपथ हुने भएको छ,’ निकट स्रोतले नेपालखबरसँग भन्यो, ‘कांग्रेसबाट अहिले उहाँको मात्र सपथ हुन्छ।’
सत्ता गठबन्धनमा भएको सहमति अनुसार नेपाली कांग्रेसले ८ वटा मन्त्रालय लिने समझदारी बनेको छ। जसमध्ये यसअघि कांग्रेसले ४ जना मन्त्री मात्रै सरकारमा पठाएको छ।
पछिल्लो पटक गत फागुन १७ गते प्रधानमन्त्री प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए। त्यतिबेला कांग्रेसबाट उपप्रधान तथा रक्षा मन्त्रीमा पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा डा. प्रकाश शरण महत, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा रमेश रिजाल र शहरी विकास मन्त्रीमा सीता गुरुङ नियुक्त भएका थिए।