बागमती सरकारबाट बाहिरियो एमाले, गण्डकीमा माओवादीले फिर्ता लियो सरकारमाथिको समर्थन

काठमान्डौ

नेकपा एमाले बागमती प्रदेशबाट बाहिरिएको छ। मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले बाहिरिएको हो। 

एमालेका चार मन्त्रीहरुले सामूहिक रुपमा सरकारबाट बाहिरिने घोषणा गरे।

शुक्रबार बसेको प्रदेश सभा बैठकमा प्रदेशका अर्थमन्त्री एवम् एमाले संसदीय दलका नेता जगन्नाथा थपलियाले एमालेका मन्त्रीहरु सरकारबाट बाहिरिएको घोषणा गरेका हुन्। 

प्रदेश सभा बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वास मत लिने कार्यसूचीमै एमालेले पनि सरकारबाट बाहिरिने घोषणा गरेको हो। 

यता गण्डकी प्रदेश सरकारको मुख्य साझेदार नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

गण्डकी प्रदेश माओवादी संसदीय दलको शुक्रबार बसेको बैठकले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । समर्थन फिर्तासँगै दुई मन्त्रीले आजै राजीनामा दिने तयारी गरेका छन् ।

पुस २५ मा माओवादी केन्द्रसहित राप्रपाको समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

माओवादीले समर्थन फिर्ता लिएसँगै अधिकारी सरकार समस्यामा परेको छ । अधिकारीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

अधिकारी सरकारमा माओवादीबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा हरिबहादुर चुमान र वनमन्त्रीमा रेशमबहादुर जुग्जाली सहभागी थिए ।

संसदीय दल बैठकको निर्णयलगत्तै कांग्रेस-माओवादी संयुक्त बैठक सुरू भएको छ ।

ताजा समाचार