काठमान्डौ
उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले पदबाट दिएको राजीनामा पत्र प्रधानमन्न्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष बुझाएका छन्।
गृहमन्त्रालयबाट निजी गाडीमा बाहिरिएका उनी सिधै बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई राजीनामा बुझाएका हुन्।
सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार उनी गैरनागरिक रहेको ठहर गर्दै सांसदसहितका संवैधानिक पद नरहने आदेश जारी गरेको थियो।
यो आदेशसँगै उनले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका हुन्। उनी गत पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै मन्त्रीमा नियुक्त भएका थिए।
सर्वोच्चको आदेशपछि चितवन २ बाट मंसिर ४ गते निर्वाचित उनको सांसद पनि पनि कानुनी रुपमा गएको छ। अब त्यहाँ उपनिर्वाचन गर्नुपर्ने भएको छ।
रवि लामिछानेको प्रतिक्रिया : म अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन
रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने बताएका छन् । तर अरू कुनै प्रश्नको जवाफ आफूसँग नभएको उनले बताएका छन् ।
सर्वोच्चले सांसद पद खारेज भएको फैसला सुनाउँदा लामिछानेले गृह मन्त्रालयमै थिए । मन्त्रालयबाट बाहिरिने क्रममा उनले भनेका छन्, अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।’
अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘म अनागरिक छु । कुनै प्रश्नको जवाफ मसँग छैन ।’
सञ्चारकर्मी र लामिछानेको सम्वाद
प्रश्न : सर्वोच्चको फैसलामा तपाईको प्रतिक्रिया के छ ?
रवि : तपाईहरु एउटा अनागरिकलाई प्रश्न सोध्दै हुनुहुन्छ । कहाँको नागरिकलाई प्रश्न सोध्दै हुनुहुन्छ । म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नु भएको नै थाहा छैन ।
प्रश्न : यो भन्दा अगाडि त गृहमन्त्री हुनुहुन्थ्यो नि
रवि : यतिखेर म अनागरिक छु, एउटा अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ ।
प्रश्न : अब के गर्नुहुन्छ ?
रवि : थाहा छैन मलाई । एउटा अनागरिकले के गर्छ बुझेकै छैन मैले ।
प्रश्न : सर्वोच्चको फैसलालाई कुन रुपमा लिनु भएको छ ?
रवि : स्वागत गर्छु, स्वीकार गर्छु । सर्वोच्च अदालतभन्दा माथिल्लो कुनै निकाय छ र ? अदालतको फैसलालाई त म एकदमै स्वागत गर्छु, तर अरु प्रश्नमा त भनिहालेँ, एउटा अनागरिकले के उत्तर दिने ।
प्रश्न : राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष …
रवि : म अध्यक्ष रहिनँ सर । म केही पनि होइन, कहीँको पनि होइन ।
प्रश्न : नागरिकता पुनः प्राप्तिको प्रक्रियामा जानुहुन्छ ?
रवि : यो सबै प्रश्नहरुको मसँग कुनै जवाफ छैन । तपाईहरुले कसलाई प्रश्न सोध्नु भएको ? प्रश्न सोध्न कुनै परिचय चाहिन्छ । यतिखेर कुनै परिचय नभएको एउटा अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ ।
प्रश्न : जनताले माया गरेको व्यक्ति त हो नि तपाईँ ?
रवि : त्यो पनि मलाई थाहा भएन ।
प्रश्न : रास्वपाको सभापति अब को हो त ?
रवि : खै थाहा भएन ।