कांग्रेसले दोहोर्‍यायो २८ वर्षअघिको इतिहास, संसद् बन्यो प्रतिपक्षीविहीन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्दा नेपाली कांग्रेसले २८ वर्ष अगाडिको नजिर दोहोर्‍याएको छ।

प्रधानमन्त्री प्रचण्डलाई २६ पुसमा विश्वासको मत दिएपछि कांग्रेसले २०५१ सालको विगत दोहोर्‍याएको हो।

तत्कालीन एमाले अध्यक्ष तथा प्रधानमन्त्री मनमोहन अधिकारीलाई कांग्रेसले विश्वासको मत दिएर पद जोगाइदिएको थियो।

त्यसबेला मनमोहन प्रधानमन्त्री हुँदा दुईतिहाइ अर्थात् १९८ सांसदले विश्वासको मत दिएका थिए। यस पटक पनि प्रचण्डलाई दुईतिहाइ अर्थात् २७२ मत मिल्ने सम्भावना छ।

२०५१ मा मनमोहनलाई दुईतिहाइ दिँदा कांग्रे सभापतिमा गिरिजाप्रसाद कोइराला थिए। अहिले प्रचण्डलाई समर्थन गर्दा सभापतिमा शेरबहादुर देउवा छन्। 

कांग्रेस कार्य सम्पादन समितिको मंगलबार संसद भवनमा बसेको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिने सर्वसम्मत निर्णय गरेको सहमहामन्त्री महेन्द्र यादवले बताए।

तर उक्त निर्णयमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी र बलबहादुर केसीले असहमति जनाएका छन्। 

कांग्रेसले समेत समर्थन गरेपछि अब प्रतिपक्षमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र स्वतन्त्र सांसद योगेन्द्र मण्डल मात्रै बाँकी रहेका छन्।  

संयोग के छ भने २८ वर्षको अन्तरालमा कांग्रेसले २ पटक विश्वासको मत दिँदा प्रधानमन्त्री पदमा कम्युनिष्टकै नेता नै परे।

२०५१ मा अल्पमतको सरकारको नेतृत्व गर्दा अधिकारी तत्कालीन एमालेका अध्यक्ष थिए। अहिले माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री छन्। 

२०४८ सालको आम चुनावमा बहुमत ल्याएको कांग्रेसले पार्टीभित्र आन्तरिक विवाद चुलिएपछि तीन वर्षमै संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेको थियो। 

त्यही भएर एमालेले ८८ सिट जितेर पहिलो दल बन्ने मौका पायो। कांग्रेसले ८३ सिट जितेको थियो।

यसपटक एमालेसहित ७ दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थन लिएर १० पुसमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितका दलबाट विश्वासको मत पाउन सफल भए। 

४ मंसिरको चुनावमा कांग्रेसले ८९ सिट जितेको छ। उसको समेत विश्वासको मत पाएपछि प्रचण्ड लोकप्रिय नेता बन्न सफल भएका छन्। 

प्रत्यक्ष १६५ र समानुपातिक ११० गरी प्रतिनिधि सभामा २७५ सांसद छन्। 

यसपटकको चुनावमा १२ राजनीतिक दलबाट २७२ र तीन स्वतन्त्र सांसद निर्वाचित भए।

चुनावमा ७ दल मात्र राष्ट्रिय पार्टी बन्न सफल हुँदा पहिलो पटक चुनाव लडेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २० सांसद जिताउन सफल भएको थियो ।

प्रधानमन्त्री अधिकारीलाई त्यसबेला १९८ जना सांसदले विश्वासको मत दिएका थिए। 

यसपटक प्रचण्डले २७२ सांसदबाट विश्वासको मत पाए।

ताजा समाचार