काठमान्डौ
प्रतिनिधिसभाको दोस्रो बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे बस्ने छ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची छ।
हिजो बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले प्रधानमन्त्री प्रचण्डबाट प्राप्त विश्वासको मत लिनेसम्बन्धी सूचनाबारे जानकारी गराएका थिए।
प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम यही पुस १० गते आफू प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ।
सात दलको समर्थनमा यही पुस १० गते प्रधानमन्त्री नियुक्त प्रचण्डलाई जम्मा १६९ सांसदको समर्थन छ। प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसद तथा भने ३ जना स्वतन्त्र सांसद समर्थन गरेका हुन्।
आज विश्वासको मत लिँदा यसभन्दा बढी मत आउनेगरी सत्ता गठबन्धनले पहल गरिरहेको छ।