काठमान्डौ
नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ। यसमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा उम्मेदवार छन्।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा बिहान ८ बजेपछि मतदान सुरु भएको हाे। मतदान बिहान १० बजेसम्म जारी रहनेछ।
मतदान सकिएपछि आजै मतगणना र परिणाम घोषणा हुने कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले जनाएको छ। यस निर्वाचनका मतदाता पार्टीका प्रतिनिधिसभा सदस्य हुन्।
दलको चुनावअघि देउवाका पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला र विमलेन्द्र निधिले साथ दिने बताइसकेका छन्। पौडेल त देउवाको उम्मेदवारीमा प्रस्तावकसमेत हुन्।
त्यसैगरी, महामन्त्री थापाको पक्षमा नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र काठमाडौं–५ बाट विजयी प्रदीप पौडेलसहित उभिएका छन्।
अहिलेसम्मको अवस्थामा देउवाका पक्षमा ५६ र थापाका पक्षमा ३३ जना सांसद देखिएका छन्। तर, यो संख्यामा निर्वाचनको दिन तलमाथि हुनसक्छ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो। समितिले मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने जनाएको छ।
कांग्रेसका ८९ सांसदमध्ये मनाङबाट निर्वाचित टेकबहादुर गुरुङले भोट हाल्न पाउँदैनन्। अदालतमा मुद्दा विचाराधीन रहेकाले संस्थापन पक्षका उनी मतदानमा सहभागी हुने छैनन्।