बाजुरामा मुचुल्का बढी मत भेटिँदा संघ र प्रदेश दुवैको गणना रोकियो 

काठमान्डौ

बाजुरामा प्रतिनिधि र प्रदेश सभा दुवैतर्फको मतगणना रोकिएको छ। मुचुल्का भन्दा बढि मत भेटिएपछि मतगणना रोकिएको हो।

शुक्रबार बिहान बाजुराको हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्का भन्दा बढि मत भेटिएपछि गणना रोकिएको थियो। 

प्रतिनिधि सभातर्फ चार मतपेटिकामा गरेर मुचुल्का भन्दा ३० मत बढि भेटिएको थियो। त्यसपछि पनि प्रदेश सभाको मतगणना भने जारी नै थियो।

प्रदेश सभा २ को गणना गर्दा बुढिगंगा नगरपालिका– ३ को मतदान केन्द्रमा ९८ मत बढि आएपछि प्रतिनिधि र प्रदेश सभातर्फ दुवैतर्फ गणना रोकिएको हो। 

मतगणना सुचारु गर्न पहल भइरहेको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताए।

प्रारम्भिक मतपरिणाम अनुसार प्रतिनिधि सभातर्फ कांग्रेसका बद्रीप्रसाद पाण्डे ५ हजार ४१९ मत सहित अग्रस्थानमा छन्। नेकपा एमालेका कर्णबहादुर थापाले ४ हजार १२९ मत पाएका छन्। 

प्रदेश सभा (१) मा नेकपा एकीकृत समाजवादीका नरेश शाही २ हजार ९७ मत सहित अगाडि छन्।

एमालेका बलदेव रेग्मीले ९६२ मत पाएका छन्। यस्तै, प्रदेशसभा (२) तर्फ एमालेका लालबहादुर थापा १ हजार ६५७ मत सहित अगाडि छन्। कांग्रेसका पदमबहादुर शाहीले १ हजार २६७ मत पाएका छन्।

ताजा समाचार