देउवाले कांग्रेस पदाधिकारीलाई बालुवाटार बोलाए, कांग्रेसभित्र ‘समान अवसर र न्यायका निम्ति’ शेखर समूहको चियापान 

काठमान्डौ

प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा पदाधिकारीहरुलाई बालुवाटारमा बोलाएर समानुपातिकतर्फको बन्दसूची संशोधनका लागि छलफलमा जुटेका हुन्। 

उनले छलफलका लागि पदाधिकारीहरुलाई बालुवाटारमा बोलाएको एक पदाधिकारीको सचिवालयले जनाएको छ। 

ती पदाधिकारीको सचिवालयका अनुसार सभापति देउवाले छलफलका लागि केन्द्रीय सदस्य डा. शेखर कोइरालालाई पनि बोलाएका छन्।

कांग्रेसको संस्थापनइतर समूह बन्दसूचीमा एकलौटी गरिएको भन्दै असन्तुष्ट छ। उक्त समूहले शुक्रबारसम्म बन्दसूची नसच्याइएको कठोर निर्णय लिने चेतावनी दिइसकेको छ।

निर्वाचन आयोगमा बुझाइएको समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्दसूची संशोधनबारे नेपाली कांग्रेस छलफलमा जुटेको छ।

यसैविच नेपाली कांग्रेस संस्थापन इतर समूह अर्थात् डा. शेखर कोइराला पक्षले आज दसैं, तिहार, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ। 

बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजित उक्त कार्यक्रम  ‘पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायका निम्ति’ गरिएको आयोजक नेपाली कांग्रेस खबरदारी अभियानले जनाएको छ। 

कार्यक्रममा डा. शेखर कोइरालासहित उक्त समूहमा रहेका पदाधिकारी तथा पूर्वपदाधिकारी सहभागी भएका छन्। कार्यक्रममा शेखर, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, डा. मीनेन्द्र रिजाललगायत नेता सहभागी छन्। 

आसन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूची एक पक्षीय रूपमा निर्वाचन आयोगमा पेस गरेको भन्दै कांग्रेसको कोइराला पक्ष आन्दोलित छ। 

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको एकलौटीविरुद्ध कोइराला समूहले बुधबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको थियो। 

ताजा समाचार