काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवाले बिहीबार बिहान सत्ता गठबन्धन दलका शीर्ष नेताहरूसँग छलफल गर्न चाहेका थिए । बिहान १० बजेका लागि बैठक बोलाइएको थियो ।
तर, नेताहरूको व्यस्तताका कारण अहिले बिहान गठबन्धनको बैठक बस्न नसकेको हो । सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भने छलफल गरेका छन् । देउवा-दाहालबीच नागरिकता विधेयक संसद्बाट पारित गर्ने विषयमा छलफल भएको स्रोतको भनाइ छ ।
कांग्रेस, माओवादी केन्द्रसहित पाँच दलबीच आगामी चुनावमा तालमेल गरेर अघि बढ्ने सहमति छ । तर, सिट बाँडफाँटको टुंगो लागेको छैन । गठबन्धनले कृष्णप्रसाद सिटौला नेतृत्वमा कार्यदल बनाए पनि कार्यदलले सिट बाँडफाँटको टुंगो लगाउन सकेको छैन । अब बस्ने गठबन्धनको बैठकमा कार्यदलका संयोजक सिटौलाले सिट बाँडफाँटबारे कार्यदलमा भएको छलफलको प्रगति प्रस्तुत गर्ने तयारी छ ।
माओवादी केन्द्रका अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले बिहीबार बिहान नेताहरूको व्यस्तताका कारण गठबन्धनको बैठक बस्न नसकेको बताए । ‘गठबन्धनको बैठक बोलाइएको हो । तर‚ बस्न सकेन,’ उनले भने, ‘प्रधानमन्त्रीज्यू र अध्यक्षज्यूबीच केहीबेर कुराकानी भयो ।’ उनका अनुसार गठबन्धनको बैठक शुक्रबार बस्ने तयारी छ ।