चुनावका लागि प्रहरीले सेनासँग माग्यो दुई हजार पेस्तोल, पालिकामा पुग्न थाल्यो सेना 

निर्वाचनको तीन दिनअघि सबै मतदानस्थलमा कर्मचारी र मतपत्रसहितका निर्वाचन सामग्री पुर्याइसकिने भएको छ। २७ गते बेलुका पालिकाबाट मतपत्र लिएर निर्वाचन अधिकृत मतदानस्थलमा पुगिसक्ने छन्।

त्यही अनुसार सुरक्षा व्यवस्था तयार गरिएको गृह मन्त्रालयले जनाएको छ। अहिले नै पालिकामा थप सुरक्षाकर्मी परिचालन गरिसकिएको छ। नेपाली सेना र सशस्त्र प्रहरी पनि सबै पालिकामा पुगिसकेका छन्। निर्वाचन हुनु एक साता पहिलेबाट सेना र सशस्त्र प्रहरीले पनि गस्ती सुरु गरेका हुन्। 

उनीहरु २७ गतेदेखि भने हरेक मतदान केन्द्रमा पुग्नेछन्। यसअघि समूहमा तालिम गरिरहेका म्यादी प्रहरीलाई पनि फिल्डमा खटाउन थालिएको छ। उनीहरुलाई पनि प्रहरीसँगै ड्युटीमा परिचालन गरिएको छ। 

अपुग हतियार सेनाले दिने 
निर्वाचनमा खटिने जुनियर अधिकृतका लागि हतियार अपुग भएको छ। 

नेपाल प्रहरीमा हालै थपिएका करिब १२ सय वरिष्ठ सइसहित सइ र असइ गरी करिब ६ हजार २ सय जुनियर अधिकृत छन्। तर प्रहरीसँग साना हतियार अपुग भएकाले मगाउनु परेको प्रधान कार्यालयले जनाएको छ। 

नेपाल प्रहरीले अपुग हतियार नेपाली सेनासँग माग गरेको छ। जुनियर अधिकृतका लागि २ हजारभन्दा बढी पेस्तोल सेनासँग माग गरेको हो। त्योमध्ये आइतबार करिब ६ सय पेस्तोल सेनाले उपलब्ध गराएको छ। 

हरेक मतदानस्थलमा जुनियर अधिकृत रहनेछन्। उनीहरुका लागि पेस्तोल अपुग भएपछि चुनाव सकिएपछि फिर्ता गर्ने गरी सेनासँग माग गरिएको प्रहरी प्रधान कार्यालय श्रोतले जनाएको छ। 

मतदानस्थलमा वरिष्ठ सइ, सइ र असइको कमान्डमा प्रहरी खटिने छन्। उनीहरुको साथमा पेस्तोल हुनेछ। अन्य हतियारसहितका जवान र हवल्दार पनि हरेक मतदानस्थलमा रहनेछन्। 

काठमाडौँका प्रहरी बाहिरी जिल्ला पठाइयो 
प्रहरी प्रधान कार्यालयसहित तालिम केन्द्र तथा अन्य नियमित काममा खटिएका प्रहरीलाई पनि बाहिरी जिल्लामा पठाइएको छ। उपत्यकाका जिल्लासहित तालिम केन्द्र, गण, मेट्रो लगायत युनिटबाट प्रहरी बाहिर जिल्लामा थप गरिएको हो। उपत्यकाका तीन जिल्लाबाट करिब १ हजार प्रहरी अन्यत्र पठाइएको छ। 

सामान्य समयमा उपत्यकामा बढी प्रहरी परिचालन गरिने भए पनि निर्वाचनमा म्यादी थप भएकाले अन्य प्रहरी अन्त पठाइएको हो। काठमाडौं प्रहरी परिसरबाट मात्रै ६ सय १० जना प्रहरी बाहिर खटाइएको छ। ललितपुरबाट २३८ जना र भक्तपुरबाट १४८ जना प्रहरीलाई अन्यत्र पठाइएको छ। 

यस्तै उपत्यकाका ११ सय ट्राफिक प्रहरी निर्वाचनका लागि अन्यत्र परिचालन गरिएको छ। काठमाडौंमा अहिले ट्राफिकको काममा पनि म्यादी खटाइएको छ। २७ गतेसम्म म्यादीलाई प्रहरीका नियमित काममा पनि सहयोगीको रुपमा खटाइने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

ताजा समाचार