प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् सञ्चालन गर्न नदिने प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई मत नदिन आह्वान गरेका छन्।
लुम्बिनी प्रदेशमा पर्ने रुपन्देहीको बुटवलमा शनिबार आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेलाई मत नदिन मतदातालाई आग्रह गरेका हुन्।
नेपालको संविधानमा जथाभावी संसद् भंग गर्न पाउँदै पाउँदैन। लहडको आधारमा, रहरको आधारमा संसद् भंग गर्नै पाउँदैन,’ देउवाले भने, ‘अदालतले न्याय गरेर पार्लियामेन्ट फिर्ता गर्याे, पार्लियामेन्ट चल्नै दिएको छैन। पार्लियामेन्ट चल्न पनि नदिने, पार्लियामेन्ट भंग गरेको गर्यै गर्ने ओलीजीको पार्टीलाई जिताएर के गर्नुहुन्छ?’
एमाले अध्यक्ष केपी शर्मा ओलीको अत्याचारका कारण पाँच दलीय गठबन्धन बनेको उनले दोहोर्याए। ‘यो गठबन्धन भएको छ, ओलीजीको अत्यधिक ठूलो अत्याचार भएपछि भएको हो’, प्रधानमन्त्री देउवाले भने।
उनले एमाले अध्यक्ष ओलीमा विपक्षीले गरेको विरोध सहन गर्ने शक्ति नै नभएको टिप्पणी पनि गरे।