बाजुरा — बाजुराको बुढीनन्दा नगरपालिका ९ पाण्डुसैनको अगाउपानीमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी (एस) का कार्यकर्ताबीच शुक्रबार दिनभर झडप भएको छ ।
झडपमा १० प्रहरीसहित दुई जना नेकपा (एस) र तीन जना कांग्रेस कार्यकर्ता गरी १५ जना घाइते भएका छन् । नेकपा एसका जिल्ला सचिव पुरबहादुर रावतमाथि चक्कु प्रहार भएको छ । प्रहरी चौकी तोडफोड भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले १६ राउण्ड हावाई फायर गरेको थियो।
झडपको अवस्था नियन्त्रणमा आउन नसकेपछि सदरमुकाम मार्तडीबाट प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलसहित सुरक्षा निकायका प्रमुखको टोली घटनास्थलतिर गएको प्रहरीले जनाएको छ । अहिले सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी एक सय बढीको संख्यामा सुरक्षाकर्मी परिचालित रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार नेकपा एसका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा कांग्रेसका कार्यक्रताहरुले ढुंगा प्रहार गरेपछि दोहोरो झडप सुरु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताए ।
तर नेपाली कांग्रेसका नेतासमेत रहेका जिल्ला समन्वय समितिका संयोजक नरेन्द्र रोकायाले नेकपा एसका कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि ढुंगा हानेपछि झडप सुरु भएको बताए । नेकपा एसका सचिव रावतले लुकेर आएका कांग्रेस कार्यकर्ताले आफूलाई हत्या गर्न चक्कु प्रहार गरेको र संयोगले टाउकोमा नलागेर पाखुरामा लागेपछि बाँच्न सफल भएको बताए ।