भरतपुर महानगरपालिका यो स्थानीय निर्वाचनकै ‘इपिसेन्टर’ बनेको छ। ६ महानगरमा मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धन र एमालेबीच भए पनि भरतपुरलाई दुवै पक्षले प्रतिष्ठाको विषय बनाएका छन्।
नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले दिएको स्वतन्त्र उम्मेदवारीका कारण दबावमा परेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले बिहीबार भरतपुरमा चुनावी सभा गरेका हुन ।
केन्द्रीय बस टर्मिनलमा भएको सभामा सभापति शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुले पार्टीका असन्तुष्ट कार्यकर्ता तथा समर्थकलाई फकाउने प्रयास गरेका छनभने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने कांग्रेस र माओवादीको गठबन्धन अस्वीकृत भए देश दुर्घटना पर्ने त्रास देखाएका छन् ।
सत्ता गठबन्धनमा भएको भागवन्डाअनुसार भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले उम्मेदवारी दिएकी छन् भने उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् । तर मेयर माओवादीलाई छाड्ने निर्णयको विरोध गर्दै कांग्रेसका पूर्व सांसद पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कांग्रेस नेताहरुले उम्मेदवारी फिर्ता गराउन धेरै प्रयास गरेका थिए, तर पौडेल टसकोमस भएनन् ।
गत वैशाख ८ गते सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णयलाई सत्ता गठबन्धनले स्थगित गरेको थियो। तर भरतपुरलाई प्रतिष्ठाको विषय बनाएको गठबन्धनले बिहीबार शीर्ष नेता उतारेर शक्ति देखाउन खोज्यो।
भरतपुरको केन्द्रीय बस टर्मिनलमा आयोजित चुनावी सभामा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु सहभागी थिए।
रेनुको जित नभए देश दुर्घटनामा’
माओवादी अध्यक्ष प्रचण्डले भरतपुरको जित–हारलाई गठबन्धनको मात्र नभई देशकै भविष्यसँग तुलना गरे। उनले भरतपुर महानगर प्रमुखमा रेनु दाहाल र उपप्रमुखमा चित्रसेन अधिकारीलाई भोट नहाले देश नै दुर्घटनामा जाने बताएका छन्।
‘हालिँदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ,’ प्रचण्डले भनेका छन,‘होइन यो राष्ट्र र जनताको आवश्यकता हो। लोकतन्त्रको आवश्यकता हो भनेर उत्साहपूर्वक रेनु दाहाल र चित्रसेन अधिकारीलाई भोट दिएर विजयी गराउने हो भने यो गठबन्धनलाई २० वर्ष लैजाने प्रतिवद्धता व्यक्त गर्दछु।’
उनले रेनुको ५ वर्षको कामले सम्पूर्ण चितवनवासीले नै गर्व गर्ने अवस्था सिर्जना भएको बताए। ‘बुवाको नाताले गर्व गर्ने कुरा त छँदैछ, पार्टीको अध्यक्ष र परिवर्तनको नेताको हिसाबले पनि मैले गर्व गर्न चाहन्छु। चितवनवासीले पनि गर्व गर्नुभएको छ, म आभार ब्यक्त गर्न चाहन्छु,’ प्रचण्डले भनेका छन्।
एमाले जोडेर तर्साए
चितवनमा गठबन्धन गराउनैपर्ने बाध्यतामा रहेका प्रचण्डले एमालेले पनि आफूसँग एकता र तालमेलका कुरा गरेर आएको खुलासा गरे।
प्रचण्डको यो भनाई अर्थपूर्ण थियो। ‘एमालेका साथीहरु अहिले पनि मिलौँ भन्दै आएका छन्। गठबन्धनका अन्य नेताहरुलाई झस्काउँदै भने, ‘तर मैले हुन्न भनेको छु। म अहिले यही गठबन्धनलाई १५/२० वर्षसम्म लैजाने योजनामा रहेको जवाफ दिएको छु,’ उनले भने।
प्रचण्डले आफू गतिशील र सिर्जनशील भएपनि अस्थिर भने नभएको दाबी गरे। ‘म गतिशील र सिर्जनशील मान्छे हो तर म अस्थिर होइन। शेरबहादुरजीले नेपालमा राजनेता जन्मियो भनेपछि मैले गठबन्धन फेरेँ,’ उनले भने, ‘यो गठबन्धन राष्ट्रको आवश्यकता हो, लोकतन्त्र र विकासको आवश्यकता हो भनेर नबुझेर भोट हाल्नु भएन भने देश दुर्घटनामा जान सक्छ।’
देउवाको आशंका
सभाको अन्तिममा सम्बोधन गरेका कांग्रेस सभापति देउवाले पनि गठबन्धन जोगाउन भरतपुर जित्नैपर्ने तर्क गरे। ‘कुनै हालतमा यो गठबन्धन टुटाउने षड्यन्त्र भरतपुर र चितवनबाट हुनै सक्दैन, हुँदै हुँदैन। यो कुरामा स्पष्ट हुनुस् तपाईंहरु।’ देउवाले भनेका छन्।
साथै, गठबन्धनकै कारण चितवनको विवाद मिलाउन नसकेका देउवाले देशको अन्य क्षेत्रमा कहीँ गठबन्धनमा विवाद नभएको बताए।
‘मैले गठबन्धनको विरोधको आवाज यहाँ मात्रै सुनेँ, अन्त सबैतिर गठबन्धनको पक्षमै माहोल देखिएको छु। अन्त विरोध छैन, यहाँ मात्रै विरोध छ। गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ। यदि त्यसो भयो भने हाम्रो पार्टी पनि बिग्रिन्छ, खत्तम हुन्छ,’ देउवाले भनेका छन।
देउवा–प्रचण्ड प्रशंसा
महानगर र उपमहानगरको भागवण्डा नमिलेकै कारण गठबन्धन टुट्नसक्ने आशंका धेरै पहिल्यैदेखि थिए। यद्यपि स्थानीय तह निर्वाचनसम्म कम्तिमा गठबन्धन नटुट्ने सहमति भएको छ।
भागबन्डा मिलाएर चुनावी अभियानमा होमिएका प्रचण्ड र देउवाबीच प्रचण्डकै चुनावी क्षेत्रमा बिहीबार दिउँसो निकै उल्लासपूर्ण वातावरण बन्यो। देउवाले प्रचण्ड निकै सहज भएको बताए। प्रचण्डले कांग्रेससँग लामो सहकार्य गर्ने प्रतिवद्धता जनाए।
‘यति सजिलो मानिस हुनुहुन्छ उहाँ प्रचण्डजी, तपाईंहरुले चिन्नु भा छैन,’ देउवाले भनेका छन्। उनले ०७४ मा कांग्रेस र माओवादीबीचको गठबन्धन चितवनकै कारण टुटेको पनि दाबी गरे।