नेत्रविक्रम चन्द विप्लवलाई उनी नेतृत्वको नेकपाबाटनिष्काशित गरिएको छ।
नेताहरु धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश वलीसहितको विशेष राष्ट्रिय भेलाले विप्लवलाई नेकपाको महासचिवबाट निष्काशित गरेको हो।
नेकपा केन्द्रीय सदस्य गुणराज लोहनीले नेपालखबरलाई दिएको जानकारी अनुसार विशेष राष्ट्रिय भेलामा अहिले बाँस्तोलाले नयाँ राजनीतिक दस्तावेज प्रस्तुत गरिरहेका छन्।
‘हाम्रो विषेश राष्ट्रिय भेला सुरु भएको छ। भेलाले महासचिवबाट विप्लवलाई हटाएर धर्मेन्द्र बाँस्तोलालाई संयोजक तोक्ने निर्णय गरेको छ’, उनले नेपालखबरसँग भने, ‘अहिले दस्तावेज प्रस्तुत भइरहेको छ।’
यो भेला आजदेखि चितवनमा सुरु भएको हो। स्रोतका अनुसार पूर्व डिभिजन कमाण्डर दीपक चलाउने र नेता पूर्णबहादुर सिंह पनि भेलामा सहभागी छन्। चलाउने केही समय विप्लवनिकट थिए।
चैत ४ देखि १४ गतेसम्म कपिलवस्तुमा बसेको केन्द्रीय समितिको बैठकमा स्थानीय तहको निर्वाचनमा सहभागी हुने कि नहुने विषयमा विवाद भएको थियो।
चुनावलाई उपयोग गर्नुपर्ने योजनासहित महासचिव विप्लवले ल्याएको राजनीतिक प्रतिवेदन नै फेल भएपछि परिमार्जन गरेर चुनावमा सक्रिय सहभागी नहुने तर, राम्रा उम्मेदवारलाई समर्थन गर्न सकिने निर्णय गरेर बैठक सकिएको थियो।
स्थानीय तहको निर्वाचनमा देशका विभिन्न तहमा स्वतन्त्र उम्मेदवारी परेपछि बैशाख १२ गते धर्मेन्द्र बाँस्तोलाले विज्ञप्ती जारी गरी मनोनयन दर्ता फिर्ता लिन आग्रह गरेका थिए।
पार्टीको हित र निर्णयविपरीत विज्ञप्ती निकालेको भन्दै वैशाख १३ गते विप्लवले बाँस्तोला र वली दुवै नेतालाई कारवाही गरी पदमुक्त गरेका थिए।
पदमुक्त दुवै नेताले नयाँ पार्टी गठनको तयारी थालेका थिए। त्यहीअनुसार राष्ट्रिय भेला भइरहेको हो। भेला शुक्रबारसम्म हुने बताइएको छ।