राहुल गान्धी ठमेलको नाइट क्लबमा, तरंग भारतको राजनीतिमा 

काठमाडौं

dअचानक काठमाडौं आइपुगेका भारतीय राष्ट्रिय कांग्रेस पार्टीका नेता राहुल गान्धी ठमेलको नाइट क्लबमा पुगेको विषयले भारतमा तरंग पैदा गरेको छ । साथीको विवाहमा सहभागी हुन सोमबार नेपाल आइपुगेका गान्धी सोही रात ठमेलको एउटा नाइट क्लब पुगेको विषयको चर्चा भारतमा भइरहेको हो । यता नेपालमा भने यो गान्धीको निजी भ्रमण भएको भन्दै कुनै औपचारिक कार्यक्रम सार्वजनिक गरिएको छैन ।

भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ता, सञ्चार माध्यम र राजनीतिक वृत्तले भने मंगलबार दिनभर गान्धीको नाइट क्लबमा रमाइरहेको भिडियो फुटेज शेयर गर्दै विभिन्न टिकाटिप्पणी गरिरहेका छन् । विशेष गरी भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) र गान्धीको पार्टी भारतीय राष्ट्रिय कांग्रेसका समर्थक र नेताहरूबीच यस विषयलाई लिएर तीखो सवाल-जवाफ चलिरहेको छ ।

गान्धी सोमबार साँझ करिब पौने ५ बजे भिस्तरा एयरलाइन्सको जहाजबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा ओर्लिएका थिए । सुरक्षा स्रोतका अनुसार विमानस्थलबाट गान्धी सिधै आफ्ना लागि बुक गरिएको होटल मेरियट नक्शाल पुगेका थिए । उनी अहिले पनि सोही होटलमा बसिरहेका छन् । उनी साथी सुम्निमा उदासको विवाहमा सहभागी हुन नेपाल आएका हुन् ।

सुम्निमा म्यानमारका लागि नेपाली पूर्वराजदूत भीम उदासकी छोरी हुन् । उनले लामो समय अमेरिकी समाचार संस्था सीएनएनमा काम गरेकी थिइन् । उनको लिंकदेन प्रोफाइलमा उल्लेख भएअनुसार सन् २०१० देखि २०१७ सम्म उनले सीएनएनका लागि दिल्लीबाट रिपोर्टिङ गरेकी थिइन् । त्यसअघि र पछि पनि उनले सीएनएनको विभिन्न जिम्मेवारीमा रहेर काम गरेको प्रोफाइलबाट खुल्छ । उनी हाल लुम्बिनी संग्रहालयकी संस्थापक तथा कार्यकारी निर्देशक रहेकी छन् । दिल्लीमा रहेर पत्रकारिता गर्ने क्रममा गान्धी र उदासबीच मित्रता रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सुम्निमाका बुवा पूर्वराजदूत उदासले गान्धीसहित अन्य मुलुकबाट पनि पाहुनाहरू आएका र बिहीबार फर्किने तय भएको बताए । ‘छोरीको विवाह कार्यक्रम चलिरहेको छ । विभिन्न मुलुकबाट गरेर २५ जना आउनु भएको छ,’ उदासले भने, ‘उहाँहरू मेरी छोरीको पाहुना हुनुहुन्छ, ५ तारिखमा र्फकनु हुन्छ ।’ अहिलेसम्म गान्धीको भ्रमणबारे प्रतिक्रिया दिइरहेको उदास परिवारले उनका अन्य कार्यसूचीका विषयमा भने जानकारी दिएको छैन ।

ताजा समाचार