टिकट बाँड्ने संसदीय बोर्डमा रामचन्द्र अटाउँदा परेनन् शेखर 

नेपाली कांग्रेसले ढिला गरी केन्द्रीय संसदीय बोर्ड गठन गरेको छ।

उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन आज सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको  बैठकले उम्मेदवारलाई टिकट बाँड्न केन्द्रीय संसदीय बोर्ड गठन गरेको छ।

कांग्रेसले बनाएको केन्द्रीय संसदीय बोर्डले विधानअनुसार महानगरको टिकट बाँड्न सक्छ।

उपमहानगरको टिकट भने प्रदेश संसदीय बोर्डले बाँड्ने अधिकार छ। तर पाँचदलीय सत्तागठबन्धन मिलेर महानगर/उपमहानगरको चुनाव लड्ने भएकोले उपमहानगरको टिकट पनि केन्द्रबाटै बाँड्ने तयारीमा कांग्रेस जुटेको छ।

प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले आज १३ पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेटेर संसदीय बोर्ड गठन गरेका हुन्। संसदीय बोर्ड २५ सदस्यीय हुने व्यवस्था छ।

सभापति देउवाले संसदीय समितिमा आफूसँग महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गरेका शेखर कोइरालालाई भने समेटेका छैनन्।

तर गत मंसिरमा भएको महाधिवेशनमा मौन बसेका पौडेललाई सभापति देउवाले केन्द्रीय संसदीय बोर्डमा राखेका छन्।

कोइरालालाई संसदीय बोर्डमा नराख्दा सभापति देउवाको आलोचना भएको छ। देउवाले केन्द्रीय कार्यसम्पादन समितिबाटै उम्मेदवारलाई टिकट दिन लागेका थिए।

तर विधानअनुसार नमिल्ने भएको भन्दै आज संसदीय बोर्ड गठन गरिएको थियो।

‘समय अभाव हुने भएकोले संसदीय बोर्डको बैठकले सभापति देउवालाई महानगर/उपमहानगरको टिकट दिने अधिकार दिएको छ,’ एक पदाधिकारीले भने, ‘सभापतिले शीर्ष नेताहरूसँग संवाद गरेर पार्टीले पाएका महानगर र उपमहानगरमा भोलिसम्म टिकट दिने व्यवस्था हुन्छ।’

ताजा समाचार