कैलालीमा जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रमा भएको सहमतिविपरीत सत्ता गठबन्धनमा नरहेका दलसँग चुनावी तालमेल गर्ने भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गत चैत २९ गते गठबन्धनका शीर्ष नेताबीच भएको बैठकले ‘गठबन्धनभित्र रहेका दलहरूबीच मात्र चुनावी तालमेल गर्न पाउने’ निर्णय गरेको छ।
तर कैलालीमा जसपाले उक्त निर्णय उल्लंघन गर्दै सत्तामा नरहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल लोकतान्त्रिक पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग चुनावी तालमेल गर्ने घोषणा गरेको हो।
कैलालीको सदरमुकाम धनगढीमा शनिबार पत्रकार सम्मेलन गरेर चार दलले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा आपसमा सहकार्य गर्ने जानकारी दिएका हुन्।
उनीहरुले वैशाख १ गते बसेको चार दलको बैठकले स्थानीय तहको निर्वाचनमा चुनावी गठबन्धन गर्ने सैद्धान्तिक, वैचारिक र कार्यनीतिक सहमति भएको जनाएका छन्।
चार दलबीच नगरपालिका प्रमुख–उपप्रमुख र गाउँपालिका अध्यक्ष–उपाध्यक्षमा आाआफ्ना दलको चुनाव चिह्न प्रयोग गर्ने र वडाध्यक्षको हकमा अध्यक्षले प्रयोग गर्ने चुनाव चिह्न वडाको प्यानलमा प्रयोग गर्ने सहमति भएको छ।
गठबन्धनको नीति, निर्देशन इमान्दारिताका साथ सबै दलका नेता–कार्यकर्ताले पालना गर्ने÷गराउने उनीहरूले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।