काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बाध्यता बुझिदिन पोखराबाट आएका नेता कार्यकर्तासँग आग्रह गरेका छन् ।
पोखरा महानगरपालिकाको मेयर कांग्रेसले पाउनुपर्ने माग गर्दै आएको नेताहरुको टोलीलाई प्रधानमन्त्री देउवाले कुन महानगर कुन पार्टीले लिने भन्ने विषयमा प्रवेश नै नभएको समेत बताएका थिए
प्रधानमन्त्रीको भनाइ उधृत गर्दै टोली नेतासमेत रहेका पूर्वमन्त्री यज्ञबहादुर थापाले भने,‘तपाईंहरु हतारिएर आउनुभयो । कसलाई कुन दिने निर्क्यौल भएकै छैन ।’
प्रधानमन्त्रीको ‘बडी ल्याङ्वेज’ हेर्दा सत्ता गठबन्धनका दललाई चिढ्याउन नहुने मनसायमा रहेको देखिएको थापाले बताए । ‘जुन दलहरुसँग मिलेर हाम्रो सरकार बनेको छ । जुन दलसँग मिलेर प्रदेश सरकार बनेको छ’, प्रधानमन्त्रीको भनाइ उधृत गर्दै थापाले भने,‘जुन दलसँग मिलेर भोलि प्रदेश र केन्द्रको निर्वाचन गराउनु छ । गठबन्धन जोगाउनका लागि कांग्रेस अलिकति लचिलो हुनैपर्ने बाध्यता कांग्रेसलाई छ,यो कुरा बुझ्नुस् ।’
प्रधानमन्त्रीको अभिव्यक्ति र हाउभाउले पोखराको मेयरमा कांग्रेसले उम्मदेवार बनाउन पाउँदैन कि भन्ने आशंका जीवित रहेको थापाले बताए ।पोखराको टोलीले प्रधानमन्त्री तथा पार्टी सभापति देउवालाई पार्टी केन्द्रीय कार्यालय सानेपा भेटेको थियो । ‘४०/४५ मिनेट हामीले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्यौं । हाम्रो शक्ति र विगतको परिणाम प्रधानमन्त्रीसँग राख्यौं’, थापाले अनलाइनखबरसँग भने, ‘अरु कुरामा लचिलो बनेर जान पोखरामा कांग्रेस तयार छ । मेयर हामीले राखेर जानुपर्ने कारण सहित तथ्य तथ्यांक राख्यौं
पोखराका कांग्रेस नेताहरुले अन्य दलले केन्द्रमा पठाएको वस्तुगत अवस्था र कांग्रेसको अवस्था मेल नखाने पनि बताएका थिए । अरु दलबाट अलि रतिरञ्जित तरिकाले रिपोर्टिङ आएको थापाले बताए । उनीहरुले माओवादी र एकीकृत समाजवादीको अवस्था राम्रो नभएको भन्दै कांग्रेसले मेयर पद छाड्दा थपिएका नयाँ मतदातामा गलत सन्देश जाने र आगामी निर्वाचनमा हानी हुने देउवालाई सुनाएका थिए ।
पूर्वमन्त्री थापाले पोखरामा आफूहरु बिद्रोह नै गर्ने पक्षमा नरहेको बताएका छन् । यदि अन्य दलले मेयरको उम्मेदवारी पाउने अवस्था रहे कांग्रेसले असहयोग नगर्ने उनको भनाइ छ ।